यातायात व्यवसायी र सरकारबीच सहमतिपछि पनि आज सार्वजनिक सवारीसाधन चलेका छैनन्।
यातायात व्यवसायीले सरकारले सूचना जारी नगरेसम्म बन्द फिर्ता नलिने बताएका छन्। राति भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत गरेपनि पहिले सरकारको सूचना सार्वजनिक हुनुपर्ने उनीहरुको अडान छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको सूचना जारी गरेपछि मात्रै आन्दोलन रोकिने बताए। उनले भने, ‘हामीलाई झुक्याउने खेल हुनसक्छ। त्यसैले सरकारले नियमावली स्थगन गरेको सूचना बाहिर ल्याउनुपर्दछ।’
वैशाख अन्तमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने भनिएपछि यातायात व्यवसायीहरु आफ्नो आन्दोलन फिर्ता लिन सहमत भएका थिए। गएराति सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीका प्रतिनिधिबीच वार्तामा राइड सेयरिङ नियमावली स्थगन र बन्द फिर्ताको सहमति भएको थियो।
तर यो सहमतिमा सरकार सिण्डिकेटधारीहरुसँग झुकेको भन्दै सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तहरुमा आलोचना भइरहेको छ।
प्रतिक्रिया