काठमाडौँ- अमेरिकाले ४० जना नेपालीलाई डिपोर्ट (देशनिकाला) गरेको छ। अवैधानिक रूपमा बसोबास गरेको आरोपमा अमेरिकाले ती नेपालीलाई पक्राउ गरी ‘डिपोर्ट’ गरेको हो।
उनीहरूलाई विमान चार्टर गरेर काठमाडौँ पठाइएको जानकारी आएको विमानस्थल अध्यागमन कार्यालयले जानकारी दिएको छ। दिउँसो सवा ४ बजे आइपुग्ने विमानमा उनीहरूलाई पठाइएको छ। यद्यपि कति जना नेपालीलाई अमेरिकाले काठमाडौँ ल्याइदिँदै छ भन्ने यकिन तथ्यांक नेपाली पक्षसँग छैन।
यसअघि २१ फाल्गुन २०८० मा अमेरिकाले विमान चार्टर्ड गरेर ८ जना नेपालीलाई फर्काइदिएको थियो। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि अवैध आप्रवासीविरुद्ध कडा नीति लिएको छ।
अमेरिकाबाट बुधवार डिपोर्ट भएर काठमाडौँ ल्याइएका ८ जना नेपालीलाई अध्यागमनले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको थियो। डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष थिए। उनीहरूलाई मानव बेचबिखन ब्युरोमा लगी सोधपुछ गरिएको थियो। यसपटक डिपोर्ट भएका नेपालीहरूको हकमा पनि यस्तै प्रक्रिया अपनाइनेछ।
नेपालबाट अमेरिकामा पुनर्स्थापना भएका भूटानी शरणार्थीलाई पनि अमेरिकाले फिर्ता गरिदिन थालेको छ। भूटानमा ल्याएर छोडिएका ती नेपाली मूलका भूटानी शरणार्थीलाई भूटानले नेपालतिर खेदाइदिन थालेको छ।
अमेरिकाले डिपोर्ट गरेर भुटान पठाएका १२ जनालाई भुटान सरकारले उनीहरूको साथमा भएका सबै कागजात खोसेर नेपालतिर खेदाइदिएको थियो।
तीमध्ये चैत १५ गते नेपाल प्रवेश गरेका ४ भूटानी शरणार्थीलाई चैत १६ गते झापाको बेलडाँगी शरणार्थी शिविरबाट नेपाल प्रहरीले पक्राउ गरेको थियो।
आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी शिविरबाट पक्राउ परेका हुन् भने अशोक गुरूङ काँकडभिट्टाबाट समातिएका थिए।
प्रतिक्रिया