+
Search

ताजा अपडेट +

पपुलर +

मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीको नियत हो : माधव नेपाल

अभिलेख
२०८२ जेष्ठ २३, शुक्रबार १३:४३ बजे

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक करिअर समाप्त पार्न प्रधामन्त्री केपी शर्मा ओलीको ग्रान्ड डिजाइनमा आफूविरुद्ध मुद्दा दर्ता गराइएको आरोप लगाएका छन्।

आफूमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण गरिएको उनको आरोप छ। पतञ्जलिको हदबन्दी छुटसमेत लिएर सस्तोमा किनेर महँगोमा बिक्री गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि यस्तो टिप्पणी आएको हो।

‘मेरो राजनीतिक क्यारियर समाप्त पार्ने केपी ओलीको नियत नै हो। पहिला पनि उहाँले पटकपटक यस्तै कोशिस गर्नुभएको हो,’ उनले आरोप लगाएका छन्।

‘कुनै समस्या उत्पन्न भएपछि सरोकारवाला मन्त्रालय वा मुख्यसचिवबाट यस समस्याको समाधान गर्ने कानुनी बाटो यस्तो रहेछ भन्ने प्रस्तावहरू आएपछि मन्त्रीहरूसमेत सहमत भएपछि यो निर्णय भएको हुनुपर्छ,’ पतञ्जली योगपीठको जग्गा बिक्री गर्नका लागि अनुमति दिने निर्णय लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको बयानमा नेपालले भनेका छन्। त्यसबेला कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र मुख्यसचिव स्व.माधवप्रसाद घिमिरे थिए।

पार्टी उपाध्यक्ष वेदुराम भुसालले बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर आक्रमण भएकाले राजनीतिक र कानुनी प्रतिवाद गर्ने बताएका छन्।

‘मुद्दाको सम्बन्धमा दुईवटा पक्ष छन्। एउटा, यसको राजनीतिक पक्ष छ। दोस्रो, यसको कानुनी पक्ष छ। राजनीतिक प्रतिशोध साधेर जुन आक्रमण भएको छ, यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं। कानुनी पक्षको कुरामा हामी कानुनी हिसाबमा नै प्रतिवाद गर्छौं,’ भुसालले भने।

उता एमाले नेता महेश बस्नेतले भने नेपालविरुद्ध अख्तियारले औपचारिक रूपमा मुद्दा दायर गरेसँगै आफूलाई नैतिकताको ठेकेदार ठान्ने माकुनेको ‘सन्त प्रवृत्ति’ को पर्दाफास भएको उल्लेख गरेका छन्।

‘यसअघि पनि बालुवाटारको करिब ३०० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिइसकेका उनी, राजनीतिक आवरणभित्र लुकेको शक्तिको गलत प्रयोगको एउटा प्रतीकजस्तै देखिएका छन्,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘हिजो मात्रै पनि सुदूरपश्चिमको पूर्वमुख्यमन्त्री उनकै कारिन्दा दीर्घप्रसाद सोडागीलाई अख्तियारले डेढ करोड भन्दा बढी रकम हिनामिनामा मुद्दा चलाएको थियो। पछिल्ला दिनमा अख्तियारले गरेको साहसिक कार्यको सम्मान गर्नैपर्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख