काठमाडौँ- नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत भएका छन्। शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा ओलीलाई सर्वसम्मत बनाइएको हो।
निवर्तमान अध्यक्ष सुबोध शेर्पालीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौरागलगायत आकाङ्क्षी थिए। तर उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा पछि हट्न लगाइएको हो।
२०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी)मा लागेका थिए। २०५९ बाट पार्टीको पूर्णकालीन सदस्य भए।
२०६१ माघ १९ मा शाही सरकारले गराएको नगर निर्वाचन विफल पार्नेक्रममा आन्तरिक बम विस्फोटनमा उनी घाइते भएका थिए। २०६३ मा झक्कु सुवेदीसँगै जिल्ला समिति सदस्य भएर काठमाडौँ आएका थिए।
२०६३ सालमा भक्तपुर वाईसीएल सचिवालय सदस्य भए। २०७४ सालमा रामप्रसाद सापकोटा वाईसीएलको अध्यक्ष हुँदा उनी सचिव थिए। २०७९ सालमा वाईसीएलको उपमहासचिव तथा प्रचार विभाग प्रमुख भएका थिए।
वाईसीएलको महासचिव गणेश शाही चयन भएका छन्। अन्य पदमा घोषणा हुन बाँकी छ।
प्रतिक्रिया