+
Search

ताजा अपडेट +

पपुलर +

लिंग परिवर्तन शल्यक्रिया अब नेपालमै

अभिलेख
२०८२ जेष्ठ २५, आईतवार १३:२० बजे

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल, महाराजगञ्जमा हालै पहिलोपटक महिला बन्न चाहने ट्रान्सजेन्डर पुरुषमा सफल सेक्स चेन्ज (लिङ्ग परिवर्तन) अपरेशन सम्पन्न गरिएको छ। २५ वर्षीय जनकपुर निवासी ट्रान्सजेन्डर व्यक्तिमा पुरुष महिला यौनाङ्गको संरचना निर्माण गरिएको हो।

शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागको नेतृत्वमा विदेशी प्लास्टिक सर्जन डा. अलिरेजा हमिदियन जाह्रोमी तथा नेपाली चिकित्सकहरूको टोलीले जेठ १२ देखि १५ गतेसम्म विभिन्न चरणमा अपरेशन सम्पन्न गरेको अस्पतालले जनाएको छ। यससँगै शिक्षण अस्पतालमा पहिलोपटक ट्रान्सजेन्डर समुदायका लागि लिंग परिवर्तन शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।

अस्पतालका प्रवक्ता सह-प्रा. डा. गोपाल सेढाईंका अनुसार, ट्रान्सजेन्डर व्यक्तिहरूले आफ्ना लैङ्गिक पहिचान अनुसारको जीवनयापन गर्न यस्ता शल्यक्रियाहरू महत्वपूर्ण हुने हुँदा अबदेखि नियमित रूपमा यस्तो सेवा उपलब्ध गराउने तयारी भइरहेको छ। विभागीय प्रमुख डा. जयन्त मान श्रेष्ठका अनुसार यो सेवा नियमित रूपमा चलाउनका लागि जेन्डर अफर्मिङ क्लिनिक स्थापनाको पहलसमेत थालिएको छ।

अपरेशन सफल भएपछि बिरामीले आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सक्ने भएका छन्। हालसम्म यस्ता अपरेशन गर्न विदेश जानुपर्ने बाध्यता थियो, जसका कारण धेरै खर्चिलो पनि हुने गर्दथ्यो। अब नेपालमै यस्तो सेवा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख