
काठमाडौँ- महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा प्रभातफेरी गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजना गरिएको प्रभातफेरीमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पशुपतिनाथ मन्दिर पुगेका छन्।
मन्त्री पाण्डेसँगै संस्कृति राज्यमन्त्री अरुण चौधरी पनि प्रभातफेरीमा पनि सहभागी भएका थिए। प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागी भएका थिए। पशुपति क्षेत्र विकास कोषको आयोजना भएको प्रभातफेरीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरुवर्ग र स्थानीयको सहभागिता थियो।
पशुपतिको मूलढोकाबाट सुरु भएको प्रभातफेरि पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुन: मन्दिरको मूलढोकामा नै पुगेर समापन भएको थियो।
यसैबीच कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ। बुधबार (फागुन १४)गते परेको महाशिवरात्रीमा नेपाल र भारतलगायतका देशबाट साधुसन्तहरू आउने क्रम जारी छ। साधुसन्तका लागि खानेबस्ने सुविधाको प्रबन्ध गरिएको छ।
शिवरात्रि (फाल्गुण कृष्ण चतुर्दशी)मा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ। उनीहरूलाई सामग्री दिन राष्ट्रप्रमुख (राष्ट्रपति)ले सोमबार १० बजे संकल्प गर्दैछन्। शिवरात्रिको भोलिपल्ट औँसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिनेछ।
महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ। भक्तजनहरुको पशुपति दर्शनका लागि भीड हुने गर्दछ। पशुपतिनाथको मन्दिरलाई यतिबेला फूल, ध्वजा, पताकालगायतले सिँगारेर सजाइएको छ।