काठमाडौं – वैशाख ८ गते शनिबार उपन्यासकार जीवन जीवन्तको उपन्यास कृति ‘चरैवेति’को लोकार्पण र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष सिग्देल, आख्यानकार नयनराज पाण्डे, समीक्षकद्वय डा. अशोक थापा र सुमन वर्षाका र सुनपकुवा मा. वि. मोरङका संस्थापक प्रधानाध्यापक प्रेमचन्द्र सापकोटाले संयुक्त रूपमा कृति सार्वजनिक गरेका थिए ।
महेश क्षितिजले सहजीकरण गरेको उक्त कार्यक्रममा उपन्यासको लोकापर्णपछि परिसंवाद कार्यक्रम सम्पन्न भयो । पुस्तकमाथि आख्यानकार पाण्डे, समीक्षकद्वय अशोक थापा र सुमन वर्षाले समालोचना तथा टिप्पणी गरेका थिए ।
आख्यानकार पाण्डेले उपन्यासले नेपालको पछिल्लो समयको धर्ममा आएको विवादित सन्दर्भलाई देखाउँदै आफूले मानेको धर्मभन्दा पर गएर अन्य धर्मका कुरा मिहिन ढङ्गले केलाउनु निकै प्रशंसायोग्य भएको बताए । यति हुँदा हुँदै पनि उपन्यासमा भाषिक रूपमा र विषयीगत रूपमा लेखक अझ सचेत रहनुपर्ने बताए ।
उक्त कार्यक्रममा सुनपकुवा माध्यमिक विद्यालय, मङ्गलबारे मोरङका पूर्वविद्यार्थीहरुका तर्फबाट अवकाश प्राप्त प्रधानाध्यापक प्रेमचन्द्र सापकोटालाई अभिनन्दन गरी ताम्रपत्र पनि प्रदान गरिएको थियो । तीन दशकभन्दा लामो समयसम्म शिक्षा क्षेत्रमा सेवा गरेका अवकाश प्राप्त प्र.अ. सापकोटाले आफ्ना विद्यार्थीहरुले गरेको प्रगति र उन्नतिमा सबैभन्दा ठुलो आनन्द मिल्ने विचार व्यक्त गरेका थिए । यसले आफ्नो रोगी जीवनमा बाँच्ने हौसला बढाएको भन्दै हर्ष प्रकट गर्नुका साथै उपन्यासकार जीवन्तको सफलताको शुभकामना पनि दिएका थिए ।
पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको यस उपन्यासको मूल्य ५२५ रहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal