हाम्रा नानीहरू पुरिएका छन् यो धूलोमा
सुस्तरी हिँड्नुहोस् किनारबाट !
तपाईँ जहाँ उभिएर
खिचिरहनुभएको छ हाम्रो फोटो,
त्यहीँ पुरिएका छन्
हाम्रा ढिकी, जाँतो र आरनहरू !
तपाईँ जहाँ उभिएर
लेखिरहनुभएको छ हाम्रो समाचार,
त्यहीँ पुरिएका छन्
हाम्रा नानीहरूका किलिप, रिबन र पेन्सिलहरू !
र तपाईँ जहाँ उभिएर
बाँडिरहनुभएको छ चाउचाउ,
हो, त्यहीँनेर पुुरिएका छन्
हाम्रा असङ्ख्य प्रियजनका रगत र आँसुहरू !
हाम्रो इतिहास पुरिएको छ यहाँ !
हाम्रा मन्दिर, मस्जिद,
गुम्बा र गिर्जाघरहरू पुरिएका छन् !
तपाईँ राता पालहरू लिएर आउनुभयो
चाउचाउ, चिउरा
र क्यामराहरू लिएर आउनुभयो
हामी शिर झुकाएर धन्यवाद भन्छौँ—
तपाईँ हामीलाई सम्झिएर
यहाँसम्म आउनुभयो !
हाम्रो आँसुको ढिकाले
तपाईँको क्यामराको लेन्स भिज्ला कि भनेर
सुस्तरी सुस्तरी रोइरहेका छौँ हामी !
तपाईँले कविता लेख्ने कापीको पन्नामा
रगतको दाग लाग्ला कि भनेर
हामी सुस्तरी सुस्तरी
निकालिरहेका छौँ
आमाको लास !
मध्य दिनमा
एउटा धमिलो आकाशबाट खसेर
धरतीको यही धूलोमा पुरिएको थियो
हाम्रो शिरमाथिको सूर्य !
अब हामी चिहानको धूलो खोस्रिएर
बटुल्नेछौँ उज्यालोका कणहरू !
किताबका पानाहरूबाट अनायास झरेका
अक्षरहरू टिपेर
अब हामी फेरि बनाउनेछौँ
जीवनका सुन्दर वाक्यहरू !
बाँसका खुट्टाहरू टेकेर उभिनेछन्
हाम्रा आस्था र सपनाहरू !
हामी बाँचेकाहरू बाँच्नेछौँ
र बनाउनेछौँ विश्वासको बाटो !
हेरिराख्नुहोस्—
यही जमीन चिरेर निस्कनेछ
आत्माको शक्ति !
हाम्रा आमाहरू पुरिएका छन् यो धूलोमा !
अन्यथा नमान्नुहोला—
सुस्तरी हिँड्नुहोस् जमीनबाट !!