आउने साल पनि
गएका सालहरू जसरी नै बित्नेछ
दिन त्यति नै हुनेछन्
बार त्यतिनै हुनेछन्
रात र दिन उसै गरि हेरफेर भइरहनेछन्
चन्द्र ग्रहण, सुर्य ग्रहण हुनेछन्
हामी भोक लाग्यो, भोक लाग्यो भनिरहनेछौं
सरकार उसको भोक मेटाउने प्रयासमा तल्लिन हुनेछ
परदेश उड्दै गरेको नेपालीले
अन्तिम पटक मातृभुमी ढोगेको फोटो भाइरल हुनेछ
अबलाहरूको ज्यानलाई
पितृसत्ताको बजारले उही मुल्य कायम गर्नेछ
छाउगोठ भत्किने छैनन्
मान्छेको चेतनामा कुनै बिकास हुनेछैन
सरकारभित्र उथलपुथल भैरहनेछ
नागरिकबाट कार्यकर्ता बन्ने क्रम रोकिने छैन
स्कुलको फि झन बढ्नेछ
रासनको दाम अझ चुलिनेछ
दुर्घटनाहरू कम हुने छैनन्
सिमित मान्छेले
साँढे दुई करोड मान्छे लुट्ने प्रक्रिया जारी रहनेछ
केही फिल्मका बाँकि सिरिज बन्नेछन्
कविता, कथा, उपन्यास, गीत, गजलहरू
फेरि पनि लेखकको भरोसामा बाँच्नेछन्
अमेरिकाले हामीलाई हेर्ने नजर अझ कठोर बन्नेछ
भारत हाम्रो लागि उस्तै बनेर रहिरहनेछ
चिन भुसको आगो बनेर सल्किरहनेछ
एउटा अद्भुत परिवर्तन भनेको
नयाँ भनिएका पार्टी एक बर्ष पुरानो हुनेछन्
लम्पसारबाद, मगन्तबाद, ठगबाद, लुटतन्त्र
भ्रष्टाचार, व्यभिचार, दुराचार, अत्याचारको खेती
अझ मौलाउने छ….
किनकि यो हाम्रो मात्र नयाँ बर्ष हो
हामीलाई हाम्रो
कला, भाषा, संस्कार, संस्कृति
बेकार लाग्न थालेको बर्षौं भैसक्यो …..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय