
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका जनविरोधी गतिविधि रोक्नु माओवादी केन्द्रको जिम्मेवारी भएको बताएका छन्।
नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो। अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदैगर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं,’ उनले भने।
काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको उनले जानकारी दिए। साथै, भोलि बिहान पार्टी सचिवालयको बैठक बस्ने र अभियानसहित अन्य महत्वपूर्ण विषयमा छलफल गरिने उनको भनाइ छ।
पूर्वको झापादेखि महोत्तरीसम्मको अभियानमा करिब ४ हजार जना माओवादी केन्द्रमा प्रवेश गरेको उनको जिकिर थियो।