
प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ पहिलोपटक प्रतिनिधिसभाको रोस्ट्रमबाट सम्बोधन गरेका छन्।
गत वैशाख १५ गते उपनिर्वाचनमा इलाम २ बाट निर्वाचित सांसद भएका नेम्वाङले सम्बाेधनकाे सुरुमा बुवा सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन्। मङ्गलबार पहिलोपटक प्रतिनिधि सभाको रोस्ट्रममा उभिन पुगेका सुहाङले पूर्व संविधानसभा अध्यक्षसमेत रहेका बुवा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
नेम्वाङ लोकतन्त्रका अटल हिमायती भएको भन्दै उनले भने, ‘उहाँले विचारका विविधता र स्वस्थ प्रतिस्पर्धामा सधैँ विश्वास राख्नुहुन्थ्यो । म पनि उहाँले दिनुभएको यही ज्ञानलाई लिएर अगाडि बढ्न चाहन्छु।’
यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए । ‘मेरो हात समाएर अब युवा पुस्ता तयार हनुपर्छ भनेर इलामेली जनताको बीचमा पुर्याउनुहुने पार्टी अध्यक्षज्यूलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने।