काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि  पिएचडी वा सो सरहको उपाधि आवश्यक पर्ने प्रावधान हटाइएको छ।

यसअघि कार्यविधिमा उपकुलपति नियुक्तिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको थियो । अब विद्यावारिधि नगरेका चिकित्सकले पनि आवेदन दिन पाउने भएका छन्।  उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार कार्यविधि संशोधन गर्दै शैक्षिक योग्यतामा यसअघि रहेको पिएचडी वा सो सरहको व्यवस्था हटाएको हो।

१८ पुसमा पहिलो पटक खुला आह्वान गरिएको थियो। पुसमा आह्वान गरिएको सुचनामा केयूको उपकुलपतिका लागि पिएचडी वा सो सरह अध्ययन गरेको हुनुपर्ने उल्लेख गरिएको थियो। कार्यविधिमा तोकिएको योग्यताका कारण डाक्टरहरूले आवेदन दिन नपाएपछि प्रक्रिया लम्बिएको थियो। चिकित्सकहरु सर्वोच्च अदालतसम्म पुगेका थिए ।

न्यूनतम शैक्षिक योग्यता संशोधनसँगै समितिले उपकुलपतिका लागि आवेदन दिन समय पनि थप गरेको छ। समितिले आज शुक्रबारदेखि ७ दिनभित्र आवेदन दिन समय थप गरेको छ। यसअघि आवेदन दिएर स्वीकृत भएका १६ जनाको भने यथावत् रहने छ।

समितिले ‘काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ मा संशोधन गर्दै उपकुलपतिका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह राखेको छ। ‘कार्यविधिको दफा ४ को खण्ड (क) मा रहेको ‘विद्यावारिधि’ भन्ने शब्दको सट्टा ‘स्नातकोत्तर’ भन्ने शब्द राखिएको छ,’ संशोधित कार्यविधिमा भनिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय