सडक प्रर्दशनमा व्यस्त शिक्षकलाई शैक्षिक गतिविधिमा फर्कन स्थानीय सरकारहरुले ताकेता गर्न थालेपछि महासंघले आफूहरुलाई नधम्क्याउन समेत चेतावनी दिएको छ।
संविधान प्रदत्त अधिकार हनन् नगर्न नेपाल शिक्षक महासंघले स्थानीय सरकारहरुलाई सचेत गराएको छ। शैक्षिक गतिविधि तत्काल शुरु गर्न स्थानीय सरकारको दबाब बढ्न थालेपछि महासंघले विज्ञप्ती जारी गर्दै दबाब नदिन चेतावनी दिएको छ। विज्ञप्तीमा भनिएको छ, ”काठमाडौं केन्द्रित सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक, शिक्षक र कर्मचारी साथीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आईरहेका छन्’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘संविधान प्रदत्त सौदावाजीको अधिकार उपयोग प्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहलाई आगह्र गर्दछौं।’
शिक्षकको सडक प्रर्दशनका कारण आफ्नो शासकीय अधिकार क्षेत्रमा भईरहेको अस्तव्यस्तालाई नियमित गर्ने भन्दै विभिन्न स्थानीय सरकारहरुले शिक्षकलाई आफ्नो कर्तव्यमा जिम्मेवार हुन सचेत गराउँदै आएका छन्। कतिपय पालिकाले विद्यालय बन्द भएको बेलाको तलब नदिने, कतिपयले विना शिक्षक भर्ना अभियान शुरु गर्ने, कतिपयले विद्यालय नआउने हो भने सरुवा हुन सूचीत गर्ने जस्ता कार्यबाट शिक्षकहरुलाई शैक्षिक गतिविधिमा फर्काउन दबाब बढाउँदै आएका छन्।
शिक्षा ऐनको माग गर्दै महासंघले चैत २० गते देखि सडक प्रर्दशन सुरु गरेपछि शैक्षिक गतिविधि ठप्प भएको छ।
सरकारसँग पटक पटक छलफल हुँदा पनि कुनै टुंगो लाग्न सकेको छैन। शिक्षकहरु माग पुरा नभएसम्म सडकबाट नफर्कने मुडमा छन्। माग समाधानको बाटो ननिस्कदाँ सडक प्रदर्शनको आज २६ दिन पुगेको छ।
प्रतिक्रिया