सामुदायिक विद्यालयमा कार्यरत देशभरका शिक्षक र कर्मचारीले काठमाडाैँमा आन्दोलन सुरु गरेका आज १४ दिन भएको छ।

१४ दिनमा आइपुग्दासमेत सरकारले सुनुवाई नगरेपछि शिक्षक महासंघले विद्यालय बन्द गर्नेदेखि परीक्षा बहिष्कार गर्ने निर्णयसम्म गरेको छ। नेपाल शिक्षक महासंघको अगुवाइमा उनीहरुले आन्दोलन गरिरहेका हुन्।   महासंघले सरकारसँग यसअघि पटकपटक भएका सहमति विधेयकमा समेट्नुपर्ने माग पनि राखेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले  कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेको बताए। कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ।

महासंघले आन्दोलनमा बाँकी शिक्षकलाई अनिवार्य उपस्थितीका लागि उर्दी जारी गरेको छ।

विद्यालयहरुमा नयाँ शैक्षिक सत्रका लागि सरकारले भर्ना अभियान घोषणा गरेको छ तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा ऐन नलिई आन्दोलनबाट नफर्कने  अडान राखेका छन्।  शिक्षकहरू विद्यालय शिक्षा विधेयक तत्काल संसदबाट पारित गर्नुपर्ने मागसहित  आन्दोलनमा उत्रिएका हुन्।

उता संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकबारे छलफल भइरहेको छ।

शिक्षकहरूको आन्दोलनमा विभिन्न दल, पेसागत संघसंगठनले ऐक्यबद्धता जनाएका छन्। सरकारसँग भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरू छन् ।मागको निकास ननिस्केसम्म आन्दोलनमा रहिरहने भन्दै अध्यक्ष सुवेदीले सबै शिक्षकलाई आन्दोलनको मोर्चा नछोड्न आग्रह गरेका छन्। महासंघले सोमबारदेखि विद्यालय नै बन्द गर्ने निर्णय गरेको छ। सरकारले नयाँ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान शुरु गरेको दिनदेखि नै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय