
बाल्यावस्थाको प्रारम्भिक शिक्षा विशेषज्ञको रूपमा मैले विगत एक दशकयता फरक अनुभव गर्न थालेकी छु।
औपचारिक शिक्षा सुरु गर्न आवश्यक पर्ने सिप नहुँदै बालबालिका कक्षाकोठामा पुग्न थालेका छन्। यसको दोषी को त? विचारमा मुख्य दोषी ‘स्क्रिन टाइम’ (मोबाइल, टीभी र कम्प्युटरलगायतका उपकरणमा बिताउने समय) हो। बालबालिका विद्यालय प्रवेश गर्ने दिन उनीहरूमा केही सिपहरू होउन् भन्ने अपेक्षा गरिन्छ। र यो सामान्य पनि हो। तर आजकल विद्यालय पुग्ने बालबालिका आफैँ राम्रोसँग उभिन पनि सक्दैनन्। आत्मविश्वासका साथ वरिपरि घुम्न, कापीकलम समाउन पनि जान्दैनन्। नयाँ साथीसँग घुलमिल हुने कुरा पनि छैन। शिक्षकसँग सम्बन्ध निर्माण गर्नु त परको कुरा आफू फरक वातावरणमा पुगेको आभाससम्म गर्न सक्दैनन् उनीहरू। विद्यालय प्रवेश गर्ने दिन कम्तीमा यी सिप चाहिँ बालबालिकामा होउन् भन्ने अपेक्षा गरिन्छ।
हालै गरिएको एक सर्वेक्षणले बेलायत र वेल्सका विद्यालयमा भर्ना भएका बालबालिका आफैँ बस्न पनि सक्दैनन्। पेन्सिल समात्न पनि जान्दैनन्। यस्तो हुँदा बालबालिकाहरूमा चिन्ता बढ्ने र आपसमा सम्बन्ध विस्तार गर्नै नसक्ने समस्या आएको पनि मैले देखेकी छु। आवश्यक सिप नहुँदै विद्यालयको नयाँ परिवेशमा पुग्दा उनीहरू निराशा र अलमल्लमा परेका छन्। यस्तो बेला उनीहरूलाई दिइएको निर्देशनअनुसार पनि काम गर्न सक्दैनन्। कतिपय अवस्थामा त उनीहरू आक्रोशित हुने र अरुमाथि जाइलाग्ने पनि हुन्छ। व्यस्त शिक्षकले उनीहरूलाई पर्याप्त समय दिन सक्दैनन्। आफूले समय नदिएकाले बालबालिकाले अनपेक्षित व्यवहार गरेको कुरा शिक्षकलाई पनि हेक्का हुँदैन। उनीहरुलाई के मात्र लाग्छ भने उच्छृंखल केटाकेटीलाई काम पुर्याउनुपर्छ। यस्तो अभ्यासले बालबालिकालाई बनाउने फेल नै हो।
केही समय अघिसम्म त बालबालिकामा यसरी ढिलो विकास हुनुको कारण कोभिड महामारी हुन सक्ने आकलन गरिएको थियो। लकडाउनमा जन्मेहुर्केका बालबालिकामा त्यसकै प्रभाव पारेको थियो भन्ने अनुमान थियो। किनभने त्यसबेला हुर्केका बालबालिकाले बाहिरी वातारणमा घुलमिल हुन पाएनन्, खेल्न र अरूसँग अन्तर्क्रिया गर्न असमर्थ भए। सुरुमा यसलाई अल्पकालीन समस्याका रूपमा लिइएको थियो। तर अब यो दीर्घकालीन प्रवृत्ति बनेर आएको छ।
लकडाउनले मानिसका बानीहरूलाई फरक बनाइदियो। धेरै बालबालिकाले पहिलो पटक छोएको वस्तु नै स्क्रिन बन्यो। धेरैले त मोबाइल फोनकै स्क्रिन छोए। लकडाउनका बेला अभिभावकहरूले पनि काम गर्न, आफ्नो जीवन व्यवस्थित गर्न, किनमेल गर्न र साथीभाइ र परिवारसँग सम्पर्कमा रहन फोनकै भर परे। लकडाउनका बेला अभिभावकले पनि स्रिनमा धेरै समय खपत गरे। बालबालिकासँग समय बिताउनुभन्दा अभिभावकले पनि बरु बालबालिकालाई नै मोबाइल दिए। यसले बच्चाहरूलाई मनोरञ्जन भयो। उनीहरू एकै ठाउँ बसेर स्क्रिनमा घण्टौँ बिताउन थाले। परिणामस्वरूप बच्चाहरूले शारीरिक गतिविधि कम गरे। आमनेसामने गर्नुपर्ने सामाजिक अन्तरक्रिया त उसै कम भए।
कल्पना गर्नुहोस् त एक वर्षसम्म एकैठाउँमा स्थिर भइरहँदा तपाईंको मांसपेशी कतिसम्म कमजोर होला? त्यसपछि चलाउन पर्यो भने कतिसम्म अप्ठेरो होला? पूर्ण विकसित भइसकेको व्यक्तिलाई त लामो समय शरीर र मांशपेशी स्थिर राख्दा समस्या हुन्छ भने विकासको तीव्र चरणका बालबालिका स्थिर बसिदिए उनीहरुको विकासमा कस्तो असर पर्ला? जब कि यस्तो बेला त हलचलको अभ्यास प्राकृतिक र निरन्तर हुनुपर्ने हो। बालबालिकाले चल्नुको सट्टा हलचल नगरी एउटा मोबाइल लिएर घण्टौँसम्म शान्तपूर्वक एकै ठाउँमा बस्न प्रोत्साहित गर्दा के होला?
बच्चाहरूलाई दौडने, खेल्ने, चढ्ने र अवलोकन गर्ने अवसर चाहिन्छ। तिनीहरूलाई आफ्नो शरीर वरिपरि सार्नु, घस्रनु, सन्तुलन गर्नु र हाम फाल्नु पनि पर्छ। शरीरको सन्तुलित विकास हुनका लागि प्रत्येक मांसपेशी र जोर्नीहरूमा चाल आवश्यक हुन्छ। यसले शरीर र मस्तिष्कको गहिरो सम्बन्ध विस्तारका लागि पनि बालबालिकमा यी क्रियाकलाप आवश्यक हुन्छन्।
संज्ञानात्मक रूपमा बालबालिकाहरू आफ्ना अभिभावकसँग गुणस्तरीय अन्तरक्रियात्मक समय पाएका छैनन्। १२ देखि ३६ महिना उमेरका अष्ट्रेलियाली बालबालिकाहरूको एक समूहमाथि गरिएको अध्ययनले स्क्रिन समय बढ्दो छ भने अभिभावक-बच्चाको कुराकानी घट्दो ट्रेन्डमा रहेको उजागर गरेको छ। वयस्क मानिसहरूले बोल्ने शब्दहरू सुन्न नपाउँदा बालबालिकाको स्वर र भाषिक विकासमा नकारात्मक असर परिरहेको छ। सामाजिक सीपहरूको लागि महत्त्वपूर्ण मानिने अभिभावकसँगको कुराकानीको क्रम पनि घट्दो छ। मोबाइललगायतका डिजिटल उपकरणहरूले व्यवहारिक प्रभाव पनि पारिरहेका छन्। अत्यधिक स्क्रिन टाइम र प्रतिक्रिया जनाइहाल्ने तथा आक्रामक बानी र बाह्य व्यवहार अनुशरणबीच पनि समबन्ध हुने गरेको अध्ययनहरूले देखाएका छन्।
अझ चिन्ताजनक कुरा त के छ भने सबै बालबालिकाहरूमा यी बानी समान छैनन्। आर्थिक र जातीय असमानताका कारण धेरै बालबालिकाले विभिन्न कमजोरीहरूको सामना गरिरहेका छन्। कमजोर सामाजिक-आर्थिक पृष्ठभूमिका डच (नेदरल्यान्डका) बालबालिकाहरूमा स्क्रिन टाइम बढी हुने एक अध्ययनले देखाएको छ। अमेरिकाको सामाजिक-जनसांख्यिकीय कारकहरूको जाँच गर्ने एक अध्ययनले काला जातिका बालबालिकाहरूको स्क्रिन टाइम बढी हुने गरेको देखाएको छ। चाखलाग्दो कुरा त के छ भने, अमेरिकी अनुसन्धानकर्ताहरूले सुरक्षित सीमित मनोरञ्जनको पहुँच र स्क्रिन टाइमबीचको सम्बन्ध पनि केलाएका छन्। हाम्रो वातावरणले हाम्रो शारीरिक र मानसिक धारणा विकास गर्न मद्दत गर्छ। बच्चाहरूलाई सुरक्षित भएर खेल्ने ठाउँमा पहुँच चाहिन्छ। उनीहरूले सामाजिक रूपमा अन्तरक्रिया र शारीरिक रूपमा खेल्ने अवसर पाउनुपर्छ भनेर उनीहरूले वकालत गरेका छन्।
केही बालबालिकाहरू अरूको तुलनामा स्कूल सुरु गर्दा जोखिममा हुन सक्छन्। यो सामान्य कुरा हो। सबैतिर समान हुनुपर्छ भन्ने दृष्टिकोणको सट्टा, बालबालिका र परिवारलक्षित गरी कमजोरीको निराकरणका उपाय अपनाउँदा बढी लाभ हुन्छ। यसका लागि सहायता कार्यक्रम ल्याउन सकिन्छ। मैले प्रायजसो दिने गरेको सुझाव पनि यही हो। स्क्रिन टाइम अन्तरक्रियात्मक हुनुपर्छ। सिकाइ बढाउन र वास्तविक जीवनका परिस्थितिहरू सामना गर्ने सामग्रीतर्फ बालबालिकालाई आकर्षित गर्नुपर्छ। यसले बच्चाको संज्ञानात्मक र सामाजिक विकासलाई प्रवर्द्धन गर्छ। हामी प्रविधिको गतिलाई पछाडि फर्काउन सक्दैनौँ, तर हामी यसलाई सजग भएर प्रयोग गर्न सक्छौँ।
–द गार्जियनबाट