
भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा २३ जना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा दोलखा भीरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
गए राति (माघ २७) करिब १० बजेर ५ मिनेटमा धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्ला भन्ने स्थानमा बा३ख ८९२३ नम्बरको बस दुर्घटना भएको हो। बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ।
दुर्घटनामा परी दोलखाको भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेले मृत्यु भएको छ। काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा सोमबार (माघ २८) बिहान १ बजेर ५ मिनेटमा उनको मृत्यु भएको धादिङका डीएसपी सुवास हमालले जानकारी दिए।
घाइतेको उपचार जारी छ। प्रहरी अस्पतालमा नौ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, काठमाडौंकै बाँसबारीस्थित न्युरो अस्पतालमा पाँच र धादिङको साइबाबा अस्पतालमा एक घाइतेको उपचार भइरहेको उनले बताए।