
भारतको मधुवनीमा शनिबार दिउँसो गाडी दुर्घटनामा ज्यान गुमाउनेहरूको शव आज आइतबार नेपाल ल्याउने तयारी गरिएको छ।
उक्त दुर्घटनामा महोत्तरी, धनुषा र सिराहाका पाँच जनाको मृत्यु भएको थियो।
मृतकको शव लिन आफन्त भारततर्फ प्रस्थान गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए।
उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गरेर फर्किंरहेका नेपाली यात्रु सवार बी आर ३२ पी ए ४६६१ नम्बरको गाडी भातरको मुजफ्फपुरस्थित सदरथाना क्षेत्रको मादापुरमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको थियो। दुर्घटनामा अन्य चारजना नेपाली घाइते भएका छन्।
मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ निवासी ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका(२ घर भएका ५० वर्षीया मनतारन देवी र धनुषाको नगराइन नगरपालिका गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छिन्।
मृतक जिप चालक सिराहाका भएको प्रहरीले जनाएको छ। ‘तर, अझैसम्म उनको परिचय खुलेको छैन। हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ,’ डीएसपी जैसवालले भने।
सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी र नातिनी आठ वर्षीया सृष्टि झा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। बालिका सृष्टि अर्चनाकी छोरी हुन्।
गाडी चालकसहित मृतक पाँच जना चार परिवारका सदस्य हुन्। आफन्त भित्रका तीन परिवारका सदस्य गाडी रिजर्भ गरेर एकसाथ कुम्भ स्नान गर्न गएका थिए। ‘कुम्भ स्नान गरेर फर्किने क्रममा तीव्र गतिको कारण गाडी दुर्घटना परेको स्थानीयले बताएका छन्,’ जैसवालले भने।