
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न भक्त्तपुर जिल्ला अदालतले आदेश दिएको छ।
आपराधिक उपद्रवको कसुरमा न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो।
उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो। तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं. १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ्गे पुल तरेवापत लिइने शूल्कको रसिदसमेत जलाइदिएकी थिइन। सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो ।
मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ। ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ।