सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू यतिबेला एकआपसमा छलफलमा छैनन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सार्वजनिक रूपमा असन्तुष्टिका स्वर नसुनिएपनि कांग्रेसका धेरै नेताहरूले ओली नेतृत्वको सरकारको चर्को आलोचना गरिरहेका छन्।
पछिल्लो समय कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा नै सरकारको कार्यशैलीको आलोचना गर्न थालेका छन्। कांग्रेसका अर्का प्रभावशाली नेता शेखर कोइरालाले सुरु गरेको आलोचना पछिल्लो समय महामन्त्री हुँदै थुप्रै नेताहरूसम्म पुगेको छ।
थापाले त सरकारले गर्नुपर्ने काम नगरिदिँदा कांग्रेसले पनि जनताबाट आलोचित बन्नुपरेको टिप्पणी मात्र गरेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुमसम्म नै बिचौलियाको पहुँच पुगेको आरोप लगाएका छन्। यसको जवाफस्वरूप ओलीले बिचौलिया आफ्नो बेडसम्म पुगेको प्रमाण पेस गर्न सार्वजनिक मञ्चबाट नै चुनौती दिइसकेका छन्।
कांग्रेसका नेता कान्छाराम तामाङलाई ओलीले ऊर्जाराज्यमन्त्रीबाट बर्खास्त गरेपछि ओलीको आलोचना गर्ने कांग्रेस नेताहरू बढेका छन्।
कांग्रेसका नेताहरूको सार्वजनिक आलोचनालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खास ठूलो विषय बनाएका छैनन्। बरु कांग्रेस सभापति देउवासँग भेट मिलाएर सबै नेताहरूको मुखमा बुझो लगाउने प्रयास गरेका छन्।
ओली-देउवा चिसोपना सार्वजनिक मञ्चमा प्रकट भइनसकेको भएपनि सम्बन्धमा विस्तार आउने गरी काम भने भएको छैन। देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा गुणाकर भट्टलाई लैजान पटकपटक ओलीसँग भेट गरिरहेका छन्। तर गभर्नर नियुक्तिको प्रक्रिया अघि बढेको छैन। भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा स्वीकृत भएको छैन। गभर्नर सिफारिसका लागि गठित उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल नेतृत्वको समितिले पनि आफ्नो काम गरेको छैन। भट्टको राजीनामा कायममुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत गरिदिएकी छैनन्। उनी आफैँ गभर्नर बन्ने दौडमा छिन्। एमालेको भागमा गभर्नर पद परेको खण्डमा उनी आफैँ गभर्नर बन्नेमा ढुक्क छिन्। त्यसर्थ पनि उनी अन्तिम समयसम्म पनि भट्टको राजीनामा स्वीकृत नगर्ने पक्षमा छिन्।
सम्भावित गभर्नर सिफारिस गर्न अटेरी गरेका एमालेका नेता पौडेलले मंगलवार प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्।
बिहानै खुमलटार पुगेका उनले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गरेको दाबी गरिएको छ। तर यो विषय यतिमा मात्र सीमित नरहेको बुझ्न गाह्रो छैन।
प्रचण्ड उनै हुन् जसले केही दिन पहिले मात्र ओली सरकार ढल्न लागेको र अब देउवा प्रधानमन्त्री बन्न लागेको बताउँदै हिनेका थिए। नयाँ वर्षको सुरुमा देउवालाई प्रधानमन्त्री बनाउने दिन टाढा नरहेको र माओवादी पनि देउवा सरकारमा सामेल हुने बताउने गरेका प्रचण्डले अहिले भने आफूहरू सरकार ढलाएर अस्थिरताको पक्षमा नलाग्ने बताउन थालेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच हातेमालो देखिएको थियो। प्रचण्डले सोमबार विपक्षी नेताको हैसियतामा संसदमा संम्बोधन गरेका थिए। बैठकमा ओली पनि सहभागी थिए। अघिल्लो पटक ओली प्रधानमन्त्रीको हैसियतमा प्रश्नोत्तरमा सहभागी हुँदा प्रचण्ड तराई गएका थिए भने प्रचण्डले विपक्षी नेताको हैसियतमा सम्बोधन गर्दा ओली तराई पुगेका थिए। सोमबारको बैठकमा ओली पनि पनि र प्रचण्ड पनि सहभागी मात्र भएनन्। ओली सचिवालयले थप एक हर्कत पनि गर्यो। ओली र प्रचण्डबीचको हातेमालोका तस्बिर प्राथमिकताका साथ फेसबुकमा ओली सचिवालयले सार्वजनिक गर्यो। ती तस्बिरमा ओलीले प्रचण्डसँग हात मिलाएको र केही संवाद गर्दै गरेको देखिन्छ।
ओलीले प्रचण्डलाई अंकमाल गर्नु र त्यसलाई प्राथमिकताका साथ सचिवालयले सार्वजनिक गर्नु मात्र होइन, भोलिपल्टै नेता पौडेललाई खुमलटार कुदाउनु पछाडिका कारण कांग्रेसलाई दबाबमा राख्नु पनि हो। तर दबाबमा राख्ने नियतले गरिएका नियमितका निकटताले भविष्यमा गठबन्धनको मुख्य घटकबाट फेरबदल गरी कांग्रेसलाई विपक्षी कित्तामा धकल्नेसम्मको स्थिति आए पनि यसको सुरुवात बिन्दु यो नै हुन सक्ने देखिन्छ।
एमाले नेतृत्वमा सरकार भएपनि महत्वपूर्ण नियमाक निकाय धितोपत्र बोर्ड र बिमा प्राधिकरणमा कांग्रेसले बाजी मारिसकेको छ। गभर्नर आफ्नो दलले पाउनु पर्ने अडानमा ओली अझसम्म पनि छन्। देउवा भने भट्टलाई बनाउने सहमति भइसकेको भनेर संकेत दिइरहेका छन्। यस्तो बेला माओवादीलाई देखाएर कांग्रेसलाई गलाउने रणनीतिमा ओली देखिन्छन्। देउवाले सोमबार नै गभर्नर नियुक्ति होस् चाहेका थिए तर ओलीले बिहीबारसम्मको भाका दिएका छन्। निर्वाचन आयोगमा प्रमुख आयुक्त पनि रिक्त छ, यसमा पनि कसले भाग पाउने भनेर गठबन्धनमा सहज छैन।
आइतबार मात्र पनि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो। टीआरसीका विषयमा छलफल भएको भनिएको छ। तर दुई नेताबीच भेट भएपछि एक विषयमा मात्र कुरा भएको होला भन्ने विश्वस्त आधार हुँदैन।
कांग्रेसले विद्युत् प्राधिकरणमा एमालेको प्रस्तावलाई स्वीकार गरेकाले राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्ने बताउँदै आएका छन्। नीति तथा कार्यक्रममा पनि कांग्रेसका नेताहरूले विभिन्न टिप्पणी गरिरहेका छन्। तर कांग्रेसले समग्रमा ठिकै नीति कार्यक्रम आएकाले समर्थन गरेर अघि बढ्ने निधो भने लिइसकेको छ।
प्रतिक्रिया