+
Search

ताजा अपडेट +

पपुलर +

चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढ्दै

अभिलेख
२०८२ बैशाख २४, बुधबार ०७:३९ बजे

पर्यटन प्रवर्द्धनका लागि शुरु गरिएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढ्दै गएको छ।

नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले सञ्चालनमा ल्याएको प्याराग्लाइडिङका लागि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ।

समुन्द्र सतहबाट २३५० मिटरको उचाइबाट उडेर १७०० मिटरमा अवतरण गरिने यस साहसिक गतिविधि पाँच वर्ष लामो अध्ययन र तयारीपछि सुरु गरिएको हो। चन्द्रागिरी (२३ सय मिटर) बाट सुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ। अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ।

उपत्यका नजिकको चर्चित ‘हिल स्टेशन’ चन्द्रागिरीमा प्याराग्लाइडिङको ब्यवसायिक उडान सुरू भएको हो । हाइ अल्टिच्युड प्याराग्लाइडिङको भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने सुनुवार बताउँछन्।

१ करोड ५० लाख रुपैयाँको प्रारम्भिक लगानीमा थालिएको  परियोजना  विस्तार हुँदै गएको छ। जङ्गलको फेदीमा बनाइएको ट्री हाउस, जंगली जनावर अवलोकन गर्ने जूत, बार र रेस्टुरेन्टहरू निर्माणको काम तीव्र गतिमा भइरहेको छ। साथै, हरेक हप्ता विशेष म्युजिक कन्सर्ट को आयोजना गरिने छ जसले पर्यटकको आकर्षण थप्नेछ विश्वास लिइएको छ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भुभागको अवलोकन गर्न सकिनेछ। रसुवा र धादिङका भुभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ।

कति छ शुल्क?

कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ७ हजार ५सय रुपैयाँ शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडिमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुबिधा उपलब्ध हुनेछ।  फोटो र भिडियोको उपकरणको प्रवन्ध कम्पनीले नै गर्छ । सोही प्याकेजका लागि सार्क राष्ट्रका विदेशी नागरिकले १० हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने हुन्छ भने अन्य विदेशी नागरिकले १५ हजार रुपैंया तिर्नुपर्ने हुन्छ।

सुरक्षाका लागि ९८ लाखको बीमा सुविधा उपलब्ध गराइएको छ जसमा पाइलट र यात्रु दुवैको सुरक्षा सुनिश्चित गरिएको सञ्चालकको दाबी छ।जीपीएस, ओके टोके लगायत फुल इक्युपमेन्ट सहितको सुरक्षा सुविधा पनि समावेश गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख