काठमाडौँ– नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेका छन्। महासंघले सडक आन्दोलन सुरु गरेको २३ दिन पुगेको छ।
‘बजार हल्ला र अफवाहमा भर नपर्नुहोला। आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला। यसपटक नेपाली शिक्षक कर्मचारीले नयाँ इतिहास रच्नु छ,’ सुवेदीले फेसबुकमा लेखेका छन्।
सुवेदीले आन्दोलनकै क्रममा बिहिवार रक्तदान कार्यक्रम राखिएकाले बढीभन्दा बढी शिक्षकलाई रक्तदान गर्न अनुरोध गरेका छन्। महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँमा सडक आन्दोलन गरिरहेका छन्।
उनीहरूले माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन्। विगतमा आफूहरूसँग भएका सहमतिअनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको एकसूत्रीय माग छ।
प्रतिक्रिया