नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक रूपमा वैधानिकता गुमाइसकेको बताएको छ।
बुधबार पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको नसकेको बताए।
वर्तमान दुईदलीय गठबन्धन सरकारले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचारविरोधी अभियानलाई उल्ट्याएको माओवादी केन्द्रको आरोप छ।
यो सरकारले आजसम्म जेजस्तो निर्णय गरेको छ, ती सबै बिचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्रिय हितविपरीत रहेको माओवादी केन्द्रको आरोप छ । सापकोटाले भने, ‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन्। तर, प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नभन्दा उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । यही १२ वैशाखदेखि संसद अधिवेशन हुँदै छ। शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौँ।’
माओवादी केन्द्रले भनेको छ, ‘वर्तमान सरकार प्राविधिक रूपमा त अस्तित्वमा छ, राजनीतिक रूपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन।’
आन्दोलनरत लघुवित्त पीडितहरू, सहकारी पीडितहरू, कर्मचारीहरू, चिकित्सकहरूलगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी उनीहरूका जायज माग पूरा गर्न माओवादी केन्द्रले सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिक्रिया