+
Search

ताजा अपडेट +

पपुलर +

डिम्बको अवैध धन्दा : पीडितलाई नै बिचौलिया बनाउन आईभीएफ क्लिनिकले रचे यस्तो प्रपञ्च

अभिलेख
२०८२ असार ३२, बुधबार ०८:४० बजे

काठमाडौँ- नि:सन्तान दम्पतीलाई सन्तान प्राप्तीमा सहयोग गर्ने भनेर खोलिएका आईभीएफ सेन्टरहरूले डिम्ब झिकेर पीडित बनाइएका किशोरीहरूलाई बिचौलिया बनाउने गरेको पाइएको छ। आर्थिक प्रलोभनमा पारी अवैध रूपमा डिम्ब झिकिएका किशोरीहरूलाई अरू पनि किशोरी लिएर आए रकम दिने प्रलोभनमा पारी बिचौलिया बनाउने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

काठमाडौँ बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकले किशोरीबाट अवैध रूपमा डिम्ब लिने गरेको पाइएको हो। यस्ता आईभीएफ सेन्टरले तीनै किशोरीलाई अन्य किशोरी ल्याउन प्रेरित गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले बताएका हुन्। ‘यिनीहरूले जोबाट डिम्ब लिन्थे, उसलाई आर्थिक प्रलोभनमा पारेर अर्की किशोरी खोज्न लगाउने रहेछन्। पक्राउ परेका दुई युवतीको बयानपछि यही तथ्य खुलेको छ,’ अनुसन्धान प्रारम्भिक चरणमा नै रहेको बताएका बोगटीले भने।

पक्राउ परेका दुई युवतीलाई आईभीएफ सेन्टरले यस्तै प्रकृतिको बिचौलिया बनाएका थिए। एकपटक डिम्ब दिएपछि उनीहरूले १० हजार रुपैयाँ पाउँथे। त्यति नै रकम डिम्ब दिने किशोरीलाई दिने र उनीहरूलाई ल्याएबापत थप रकम दिने प्रलोभनमा पारेर यी दुई आईभीएफले अवैध धन्दा मच्चाएको खुलेको हो। यसरी पीडितलाई नै बिचौलिया बनाउपछि उनीहरूले पछि गएर उजुरबाजुर गर्ने सम्भावना पनि कम हुने आईभीएफ सेन्टरहरूको आकलन थियो। तर पीडितले नै अभिभावकलाई बताएपछि यो अबैध धन्दा पर्दाफास भएको हो।

आईभीएफ क्लिनिकले एक जना ग्राहकबाट १८ लाख रुपैयाँसम्म असुल्ने गरेका थिए। तर डिम्ब दिने किशोरीहरूलाई भने केवल १० हजार रुपैयाँ मात्र दिने गरेको पाइएको छ। तर जसले जति बढी अरू किशोरीलाई डिम्ब दिन लगाउँछ त्यति नै बढी रकम पनि उनीहरुलाई दिने गरिएको सीआईबी अनुसन्धानले देखाएको छ।

दुवै क्लिनिकका सञ्चालक र सम्बन्धित केही व्यक्तिहरू पक्राउ परेका थिए। बयानका क्रममा सञ्चालकहरूले डिम्ब संकलन तथा बिक्रीको अवैध कारोबारबारे खुलाएका छन्। यसरी पक्राउ पर्ने क्लिनिक सञ्चालकहरूमा डा. स्वस्ति शर्मा (४४ वर्ष), डा. मलिनी चौधरी (४४ वर्ष), प्रत्यूषा बराल र डा. असिम अधिकारी छन्। घटनामा जोडिएका अन्यमा २४ वर्षीय अलिसा वली, २० वर्षीय जस्टिना प्रधान, १९ वर्षीय सबिना गुरुङ, २८ वर्षीय सकिल भण्डारी पनि पक्राउ परेका छन्। पक्राउमध्ये अलिसा होपकी म्यानेजर हुन् भने सकिल एन्जलका म्यानेजर हुन्। त्यस्तै, जस्टिना र सबिना किशोरी उपलब्ध गराइदिने बिचौलिया हुन्। डा. असिम होपमा चिकित्सकका रूपमा कार्यरत छन्।

‘होप र एन्जल फर्टिलिटीले किशोरीहरूको अवैध रूपमा डिम्ब लिने रहेछ। त्यसबापत किशोरीलाई १० हजार रुपैयाँ दिने रहेछ। तर, डिम्ब लिने (आईभीएफका ग्राहक)बाट भने १८ देखि २० लाख रुपैयाँसम्म असुल्दा रहेछन्,’ बोगटीले भनेका छन्।

सिआइबीले पक्राउ परेका सबैविरुद्ध अनुसन्धानका लागि म्याद थप्न सोमबार जिल्ला अदालत काठमाडौँ लगेको थियो। तर, अदालतले सबैलाई हाजिरी जमानीमा छाडिदिएको छ। सीआइबीका एसएसपी बोगटीले पक्राउ परेका सबै हाजिरी जमानीमा छुटेको भए पनि घटना गम्भीर प्रकृतिको भएको हुँदा अनुसन्धान जारी रहेको बताए।

प्रहरीका अनुसार गत साता होपले १८ वर्षभन्दा कम उमेरका दुई किशोरीको डिम्ब झिकेको थियो। यसबापत किशोरीलाई होपले १०–१० हजार रुपैयाँ उपलब्ध गराएको थियो। दुवै किशोरीलाई होपसम्म पुर्‍याइदिने काम भने जस्टिनाले गरेकी थिइन्। यसबापत उनले होपबाट ५० हजार कमिसन बुझेकी थिइन्। जस्टिनाले पनि होपमै यसअघि डिम्ब दान गरेकी थिइन्।

पहिलोपटक डिम्ब दान गर्दा जस्टिनाले होपबाट ३५ हजार रुपैयाँ लिएकी थिइन्। त्यस वेला उनले आफ्नो नाम टिना थापा रजिस्टर गराएकी थिइन्। डिम्ब दान गर्ने सम्झौता भने होपका डा. असिमले गराएका थिए। जस्टिनाले होपमा मात्रै ६ जना किशोरी लगी डिम्ब दान गर्न लगाएको पाइएको छ। उनलाई सबिना र सकिलले सुरुमा होपसम्म पुर्‍याएका थिए। त्यसबापत सबिनाले पनि ५० हजार बुझेकी थिइन्। प्रहरीका अनुसार सबिनाले पनि त्यसअघि एन्जलमा डिम्ब दान गरेकी थिइन्। पहिलोपटक डिम्ब दान गर्दा उनले सकिलमार्फत ४० हजार रुपैयाँ बुझेकी थिइन् । उनलाई डिम्ब दान गर्न आर्थिक प्रलोभन दिने काम भने सकिलले गरेका थिए। सबिनाले होप र एन्जलमा मात्रै ५ जना किशोरी लगी डिम्ब दान गराइसकेकी छिन्।

प्रहरीका अनुसार किशोरीको अवैध डिम्ब कारोबारमा उपत्यकाका अन्य आइभिएफ क्लिनिक पनि संलग्न छन् । उनीहरूविरुद्ध पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले गत २६ असारदेखि घटनाको अनुसन्धान गरेको थियो । नेपालमा डिम्ब दान गर्ने हालसम्म कुनै कानुनी प्रावधान छैन । तर, पुरुषको शुक्रकीट भने बैंकमा लगेर जम्मा गर्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख