+
Search

ताजा अपडेट +

पपुलर +

मनमा राष्ट्र र आँखामा आँसु बोकेका वीरहरू

अभिलेख
२०८२ आश्विन ५, आईतवार ११:३४ बजे

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्वीर  जहाँ नेपाली सेनाको एक जवान हात जोडेर उभिएको छ, सायद सबैभन्दा मौन तर सबैभन्दा गहिरो सन्देश बोकेको दृश्य हो त्यो।

त्यो तस्वीर केवल एउटा ‘फोटो’ होइन, त्यो नेपाली सेनाको आत्मा हो, जसमा देशको माया छ, जनताको सम्मान छ, र राष्ट्रको सुरक्षाको अटुट संकल्प छ। हात जोड्नुको अर्थ के हो र? त्यो हार हो कि विनम्रता? त्यो निवेदन हो कि आभार? वास्तवमा त्यो तस्वीरमा सैनिकले जनताको अगाडि निहुरिएको होइन, त्यो नेपाली सेनाले राष्ट्रका लागि आफ्नो सबैभन्दा ठूलो जिम्मेवारीलाई स्वीकार गर्दै नम्रताको साथ आफ्नो छाती अगाडि सारेको हो  “गोलि हामीलाई लागोस्, जनतालाई केही नहोस्” भन्ने भाव बोकेको हात जोडिएको अनुहार, एक सच्चा सपूतको प्रतीक हो।

आज हामी सबै आफ्ना घरमा सुरक्षित छौं, चाडपर्व मनाइरहेका छौं, हाँसिरहेका छौं । तर त्यो सम्भव छ, किनभने कहीं न कहीं, सिमानामा, पहाडमा, नदीको किनारमा, विमानस्थलमा, ड्युटीमा उभिएको कुनै न कुनै नेपाली सैनिक आफ्नो निद्रा त्यागेर, आफ्नो परिवार छोडेर, आफ्नो जीवनको चिन्ता नगरी राष्ट्रको सुरक्षा गरिरहेको छ। ती हुन् ती वीर, जो बन्दुक बोक्छन्, तर मनमा भने अम्बिका भवानीको नाम जप्छन्। हामीले देख्ने त्यो हात जोडेको तस्वीरको पछाडि लुकेको छ, एक आमाको रातभर जाग्राम बिताएको पिडा, एक छोरीको आशा, जसले बुवालाई फोन गर्दा “म सन्चै छु” सुन्न चाहन्छे।

त्यो तस्वीरको पछाडि लुकेको छ त्यो रात, जब बाढी आउँदा सबै मानिसहरु पहाडबाट तल भागिरहेका थिए, तर नेपाली सेना माथि चढ्दै थियो  बाँच्न होइन, बचाउन।

नेपाली सेना सधैं मौन छ, उसले चिच्याएर देशप्रेम देखाउँदैन। ऊ पोस्टरमा हुँदैन, प्रचारमा हुँदैन, तर जब राष्ट्र संकटमा हुन्छ, ऊ सबैभन्दा अगाडि हुन्छ। ऊ त्यो मान्छे हो, जसको नाम हामीलाई थाहा छैन, अनुहार याद छैन, तर जसको कारण हामी आज छाती फुकाएर हिँड्न पाएका छौं। ऊ त्यो आत्मा हो, जसले सधैं राष्ट्रलाई आफ्नो धर्म मानेको छ। त्यो तस्वीरले देशलाई सम्झाएको छ  सैनिक पनि मान्छे हुन्। उनीहरूलाई पनि घरको याद लाग्छ, आँखा रसाउँछ, तर त्यो आँसु आँखा भित्रै थुनिन्छ, किनभने उनीहरूलाई थाहा छ  देश पहिले हो। अनि हो, जब सैनिक हात जोड्छ, त्यो विनम्रताको शिखर हो, शक्ति र संवेदनशीलताको अद्वितीय संगम हो।

नेपाली सेनाको त्यो तस्वीरले हामीलाई फेरि सम्झाएको छ  देश भनेको केवल माटो होइन, देश भनेको त्यस्ता अनुहारहरू हुन्, जसले माटोको लागि प्राण समर्पण गर्न तयार छन्। र जब उनीहरू हात जोड्छन्, त्यो केवल सम्मान होइन, त्यो राष्ट्रको आत्मा हो, जुन हामी सबैको मनभित्र गडेर बस्नुपर्ने हो। त्यो तस्वीर एक चोटि होइन, हरेक पटक हेर्दा मुटु रसाउँछ। त्यसैले आँखाबाट आँसु खस्छ  गर्वको आँसु, माया र कृतज्ञताको आँसु। हामी बोल्न सक्दैनौं, तर मुटुबाट एउटा स्वर निस्कन्छ  “जय नेपाली सेना!” तिमीहरूजस्ता सपूतहरूका कारण नै यो देश जिउँदो छ, र हामी गर्वका साथ भन्न सक्छौं – हामी नेपाली हौं।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख