(हामीले जित्यौं भन्ने लाग्यो, तर हामीलाई लागेको जितको मूल्य हामीले सोचेभन्दा भारी थियो ।)
भाद्र २३ः पहिलो दिन
जेनजी आन्दोलन नेपालभर गर्ने कुरा भयो, तर त्यो पहिलो दिन म सडकमा थिइन । म कक्षाकोठामा थिएँ, जेन अल्फासँग, म उनीहरूलाई सिकाउँछु अक्षरसँग । त्यसपछि मेरो फोनमा सन्देश आयोः “आन्दोलनमा तीन जना विद्यार्थीको मृत्यु भएको छ।”
म स्तब्ध भएँ । आफ्ना विद्यार्थीहरूलाई हेर्दै, मेरो आँखाबाट आँसु बग्न थाल्यो । म हतारमा बाथरूममा गएँ, सास फेर्न गाह्रो भएको थियो, फिर्ता जानुअघि आफूलाई सम्हाल्न कोसिस गर्दै थिएँ म ।
साँझसम्म मृत्युको सङ्ख्या १९ पुगेको थियो । घर फर्किँदा, दिनभरको बोझले मलाई थिच्यो । मेरो पूर्ण मानसिकता पतन भयो । रिस र शोकले मलाई आक्रमण गर्यो। कसरी तिनीहरूले निर्दोष विद्यार्थीहरूलाई अनाहकमा मार्न सक्छन् ? त्यो रात, अन्य धेरै नेपालीहरू जस्तै, म सुत्न सकिन।
भाद्र २४ : निर्णय
भोलिपल्ट बिहान, मेरा आँखा रातभरको पीडाले सुन्निएका थिए। दुःख, शोक र रिस छाडेर गएका थिएनन्। मन कुनै पनि हालतमा सम्हालिन सकेको थिएन । बिहान आँखा खुल्नु अगाडि नै कफ्र्युको आदेश थियो। मलाई थाहा थियो यसपटक, मैले आन्दोलनमा सहभागी हुनुपर्छ । केही साथीहरूसँग देशको अवस्था र परिस्थितिको बारेमा कुरा पनि गर्दै थिएँ ।
मैले सादा सेतो टी–सर्ट, जिन्स र चप्पल लगाएँ । डर र दृढताले धड्कने हृदयसहित चुपचाप घरबाट निस्केँ। बानेश्वर पुगेपछि, ‘युथ अगेन्स्ट करप्शन!’ भन्ने नारा लगाउने भीडमा म समाहित भएँ।
आन्दोलनमा सहभागी भएको केही क्षणमा मैले पहिलोपटक अश्रुग्यासको पीडा महसुस गरेँ। मेरो अनुहार जल्यो, आँखा आँसुले धमिलो भयो, तर म भाग्नु हुन्न भन्ने पक्षमा दृढ थिएँ, त्यहीँ रहेँ । अचानक परिवार जस्तो लाग्ने अपरिचितहरू पनि आफ्ना भएँ । दुःखले मानिसलाई आफ्नो बनोँदो रहेछ ।
त्यो असामान्य दृश्य
हामी जेनजीको आन्दोलनमा थियौँ । तर … तर भीडमा, हाम्रा उमेर भन्नै नमिल्ने अपरिचित मानिसहरू देखा परे । वृद्ध, दाह्री भएका, सनग्लास लगाएका । तिनीहरूको आक्रामकता हाम्रो आन्दोलनको उद्देश्यसँग मेल खाँदैनथ्यो । तिनीहरूले प्रहरीमाथि हमला गरे । हामी केही साथीहरू अचम्मित भयौँ । नेताहरूलाई गाली गरे सुरक्षाकर्मीमाथि ढुङ्गा हाने र शान्तिपूर्ण आन्दोलनलाई हिंसामा तान्न खोजे । स्पष्ट थियो कि तिनीहरू हामी अर्थात् जेन जी होइनन्।
निर्णायक बिन्दु
सोचेको भन्दा फरक तरिकाले अराजकता सुरु भयो। एउटा समूह संसद भवनमा छिर्यो । तिनीहरूसँगै बगेर, मैले विजयको लहर महसुस गरेँ जबसम्म अकल्पनीय घटना भएन। संसद भवन तोडफोड भयो, त्यसपछि आगो लगाइयो। यो सबै मेरै आँखाअगाडि भयो। मेरो मुटु ढक्क फुल्योे।
प्रहरीले हवाइ फायर गर्यो, आतङ्क फैलियो र डर पस्यो मभित्र । अघिल्लो दिनकै मृत्यु भयावह थियो । फेरि पनि हामी सच्चा जेन जीले नै मृत्युलाई अङ्गाल्न पर्ने हो कि भन्ने भय मनमा पलायो । उता संसद भवन बल्दै थियो यता मन पोल्दै थियो । भीडबाट मानिसहरू सडकतिर भाग्ने गर्न थाले । म पनि संसद भवनको इलाकाबाट बाहिर निस्किएँ । यता प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेको कुरा थाहा भयो । एक क्षणको लागि, राहत र गर्वले मलाई मनमा खुसी पलायो । यो सरकारले घुँडा टेक्यो भन्ने भयो । अन्ततः परिवर्तन सम्भव भन्ने देखियो।
आन्दोलनभन्दा बाहिरको अराजकता
साँझ पर्दै जाँदा, फरक किसिमको डर फैलियो। सहरभर अफवाहरू फैलिए । आन्दोलन स्थलहरूमा प्रहरी व्यस्त रहँदा अशान्तिको समयमा कारागारबाट अपराधीहरू भागेका थिए।
मेरो मन निकै काप्यो डरले वा रिसले ? आफैले छुट्याउन सकिन । हामी न्यायका लागि सडकमा हुँदा, अरूहरूले अराजकतालाई आफ्नो फाइदाका लागि प्रयोग गरिरहेका थिए। परिवारहरू डराएका थिए। जताततै चिन्ता बढेको थियो, डर बढेको थियो। मानिसहरू एक्लै हिँड्नबाट डराउन थाले। आन्दोलन आशाको रूपमा सुरु भएको थियो, तर अब यसले असुरक्षाको छाया बोकेको थियो।
म आफैँलाई सोधिरहेकी थिएँ, ‘के यो जानाजानी थियो? के यी भाग्ने घटनाहरूले नागरिकहरूलाई हाम्रो विरुद्धमा पार्ने उद्देश्य थियो?’ मैले पहिले नै हिंसा उक्साउन खोज्ने घुसपैठकर्ताहरू देखेकी थिएँ र अब कारागारहरू भाँचिएसँगै, हाम्रो सङ्घर्ष कसैले अपहरण गरेर खतरनाक रूपमा विकृत रूपमा चित्रित गरिएको जस्तो लाग्थ्यो।
सडकहरूमा अझै पनि उत्सव थियो। मानिसहरू नाचे, नारा लगाए र अँगालो हाले एकअर्कालाई। म थकित भएर घर फर्केँ, अझै पनि अश्रुग्यासले जलिरहेको तर अनौठो विजयको भावना लिएर। त्यसपछि हृदयविदारक समाचार आयो, सिंहदरबारमा आगो लागेको थियो। सार्वजनिक र निजी सम्पत्तिहरू नस्ट भए, जसमा कलङ्कीको भटभटेनी पनि थियो, मेरो जाने ठाउँ।
खुसी दोष र भ्रममा परिणत भयो। मैले आफैलाई प्रश्न गरेँ, ‘हामीले वास्तवमा के हासिल गर्यौं?’ मलाई थाहा थियो यो विनाश जेनजी प्रदर्शनकारीहरूको काम होइन। मैले घुसपैठकर्ताहरूलाई आफ्नै आँखाले देखेकी थिएँ। त्यो रात, म भावनाहरूको आँधीमा बसेँ । रिस, शोक, गर्व, भ्रम । आन्दोलनले ममा सधैँका लागि केही परिवर्तन ल्याएको थियो, तर यसका दागहरू निकै गहिरा भएर बसेका छन् ।
प्रतिक्रिया