+
Search

ताजा अपडेट +

पपुलर +

फेसबुकसहित अन्य सामाजिक सञ्जाल बन्द हुन थाले

अभिलेख
२०८२ भाद्र २०, शुक्रबार ०७:०४ बजे

नेपालमा फेसबुकसहितका लोकप्रिय सामाजिक सञ्जाल बन्द हुने प्रक्रिया सुरु भएको छ।

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले बिहीबारदेखि फेसबुक बन्द गर्न थालेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशनअनुसार फेसबुक निष्क्रिय गरिएको जानकारी दिएका छन्।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीका अनुसार सरकारले दिएको निर्देशन अनुसार सबै प्रदायकमार्फत चरणबद्ध रूपमा प्लेटफर्महरू बन्द हुँदै जानेछन्। “प्रक्रिया सुरु भइसकेको छ, विस्तारै सबै सेवा प्रदायकबाट बन्द हुन्छन्,” उनले बताए।

नेपाल टेलिकमले पनि विज्ञप्ति जारी गर्दै दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको पुष्टि गरेको छ। सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषदको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठक र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने निर्देशिका २०८० अनुसार प्राधिकरणबाट प्राप्त निर्देशनमा कार्यान्वयन गरिएको टेलिकमले जनाएको छ।

यस्तै एनसेलले पनि फेसबुकसहित दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गरेको जनाएको छ।

नेपाल सरकारको निर्णयअनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो गरी २६ वटा प्लेटफर्म बन्द हुने भएका हुन्।

यसअघि सरकारको निर्णयअनुसार २३ कात्तिक २०८० मा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने निर्देशिका २०८० जारी गरिएको थियो। निर्देशिकाले नेपालमा सञ्चालन हुने प्लेटफर्महरूले अनिवार्य दर्ता भएर सम्पर्क बिन्दु राख्नुपर्ने प्रावधान गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख