इङ्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले आज राति भएको खेलमा कठिन जित निकालेको छ । न्युक्यासल युनाइटेडको घरेलु मैदानमा पाहुनाका रूपमा रहेको लिभरपुले जित निकालेको हो ।
१६ वर्षीय रियो एनगुमोहाले लिभरपुल क्लबको इतिहासमै सबैभन्दा कान्छो गोलकर्ता बनेको खेलमा सोमबार न्युक्यासल युनाइटेडलाई ३-२ ले हराएको छ ।
स्टेन्स जेम्स पार्कमा भएको खेलको पहिलो हाफमा न्युक्यासलले आक्रामक सुरुवात गरे पनि ३५औं मिनेटमा रायन ग्राभेनबर्चको प्रहार डिफ्लेक्ट हुँदै गोल भएपछि लिभरपुल १ ले अघि बढ्यो।
त्यसपछि पहिलो हाफकै इन्जुरी समयमा एन्टोनी गोर्डनले भर्जिल भान डाइकमाथि ट्याकल गर्दा रातो कार्डको सामना गरेपछि न्युक्यासल १० खेलाडीमा सीमित भयो।
दोस्रो हाफ सुरु भएको ३० सेकेन्डमै ह्युगो एकिटिकेले गोल गर्दा लिभरपुलले अग्रता दोब्बर पार्यो । तर खेल यतिमै रोकिएन।
५७औं मिनेटमा न्युक्यासलका कप्तान ब्रुनो गुइमारेसले डाइभिङ हेडरमार्फत गोल फर्काए। त्यसपछि ८८औं मिनेटमा विलियम ओसुलाले गोल गर्दै खेललाई २–२ मा पुर्याए ।
बराबरीतर्फ उन्मुख खेलको इन्ज्युरी समयको १०औं मिनेटमा १६ वर्ष ३ सय ६१ दिनका एनगुमोहाले निर्णायक गोल गर्दै लिभरपुललाई जिताए।
त्यो गोलले एनगुमोहालाई क्लब इतिहासको सबैभन्दा कान्छो गोलकर्ता मात्र होइन, प्रिमियर लिग इतिहासमै चौथो कान्छो गोलकर्ता पनि बनायो। यसअघि जेम्स भोन, जेम्स मिल्नर र वेन रुनीले मात्र यसभन्दा कान्छो उमेरमा गोल गरेका थिए।
न्युक्यासलका खेलाडी इसाक लिभरपुल जान चाहेर अहिले खेल मैदानमा नफर्केका कारण पनि यस खेललाई महत्वका साथ हेरिएको थियो ।
जितसँगै तालिकामा लिभरपुल ६ अंकसहित तेस्राे स्थानमा छ भने न्युक्यासलले दुवै खेलबाट १ अंकमात्र जाेडेकाे छ।
प्रतिक्रिया