काठमाडौँ- इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ। अमेरिकाको मेटलाइफ स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै उपाधि चुमेको हो।
पीएसजी युरोपियन क्लब च्याम्पियन हो। चल्सीले पीएसजीको पोस्टमा ३ गोल प्रहार गर्दा पीएसजीका कुनै पनि प्रहार परिणाममुखी हुन सकेनन्।
चेल्सीले पहिलो हाफमै ३ गोल गरेको थियो। दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन्।
चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरेका थिए। यस्तै जोआओ पेड्रोले तेस्रो गोल गरेका थिए। पेड्रो यसै सिजनमा मात्र चेल्सीमा अनुबन्ध भएका खेलाडी हुन्।
पाल्मरेले २२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। ३०औं मिनेटमा उनैले दोस्रो गोल थपेर अग्रता दोब्बर गरे। ४३औं मिनेटमा पेड्रोले गरेको गोल खेल अवधिकै अन्तिम गोल बन्न पुग्यो। पूरा समय सकिँदा चेल्सीका पक्षमा ३ र पीएसजीका पक्षमा शून्य नतिजा हात पर्यो।
चेल्सीले दोस्रो पटक क्लब विश्वकप उपाधि चुमेको हो। यसअघि सन् २०२१ मा पनि चेल्सी विश्व क्लब च्याम्पियन बनेको थियो।
फाइनल खेल हेर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टेडियममा उपस्थित थिए। विजेता चेल्सीका खेलाडीहरूले ट्रफीसहित पदक उनीहरूकै हातबाट प्राप्त गरे।
ट्रम्प पत्नी मेलानियालाई लिएर खेल मैदान पुगेका थिए। स्टेडियमसम्म पुग्नका लागि अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीले करिब ४० माइल यात्रा गरेको थियो।
प्रतिक्रिया