+
Search

ताजा अपडेट +

पपुलर +

आज हरितालिका तीज : पाशुपत क्षेत्रमा बिहानैदेखि दर्शनार्थीकाे भीड

अभिलेख
२०८२ भाद्र १०, मंगलवार ०७:५३ बजे

हिन्दु नारीहरुकाे महान् पर्व हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहररूको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ ।

दर्शनार्थीहररू बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् ।

पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइन र भित्र छिरिसकेपछि आठवटा लाइनको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको कुरा पशुपति विकास कोषकी सूचना अधिकारी अनिता भट्टले जनाएकी छिन् ।

पहिलो लाम गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

तेस्रो लाम पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गराइएको छ भने दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी ररूपमा निर्माण गरिएको कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

चौथो लाम तिलगङ्गा–राम मन्दिर हुँदै बाग्मती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था गरिएको छ । आर्यघाट नजिकको पुलसँगैको अस्थायी कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

दर्शन गरी फर्कंदा मन्दिर प्रांगणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयवागेश्वरीबाट चन्दन वितरणको व्यवस्था मिलाइएको छ ।

पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।

सुरक्षालाई मध्यनजर गरी बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथ दर्शनमा नआउन पशुपति क्षेत्र विकास कोषले भक्तजनमा अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख