स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्राको नाम काटिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रालाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्।
तर मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी विषय गम्भीरतापूर्वक उठेपछि आज बिहानै उनको नाम काटेर पुन: चार जनाको नामसूची राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाइयो। त्यसपछि आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले मात्र शपथ लिएका छन्। हाल स्वास्थ्यमन्त्री पद खाली नै राखिएको छ।
मिश्रा प्रसूति तथा स्त्री रोग विशेषज्ञ पनि हुन्। उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व गरिसकेकि छिन्। उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवको रुपमा रहेपनि आइतबार मन्त्री बन्ने चर्चापछि उनले राजीनामा दिएकी थिइन्।
गत फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी ६ महिनादेखि बिदामा बसेकी थिइन्।
गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री पदमा नियुक्ति गरेका हुन्। लगत्तै संसद् विघटन गरी आगामी फागुन २१ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचन पनि घोषणा भइसकेको छ।
प्रतिक्रिया