नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन्। विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ। बिहान ११ बजे उद्घाटन हुने महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ।
उदघाटन सत्रपछि पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
महाधिवेशनमा अनुशासन, लेखा र निर्वाचन आयोग तथा सल्लाहकार परिषदका प्रतिवेदन पनि प्रस्तुत हुनेछन्। प्रतिवेदनहरुमाथि भदौ २१ गते समूहगत छलफल हुनेछ। ती छलफलका निष्कर्षलाई भदौ २२ गतेदेखि प्रस्तुत गरिने छ।
प्रतिक्रिया