+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री केपी शर्मा ओलीले भेटे चीनका राष्ट्रपति सी चीनफिङ

अभिलेख
२०८२ भाद्र १४, शनिबार २०:४७ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनको तियानजिनमा जनवादी चीनका राष्ट्रपति सी चीनफिङसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

भेटवार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा छलफल भएको र दुवै देशले पारस्परिक हितका सहयोगलाई आगामी दिनमा अझै अगाडि बढाउने प्रतिबद्धता जनाएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ।

प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनले दिँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेकाले समस्यामुक्त रहेको उल्लेख गरेको जनाएको छ। आगामी साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको सफलताको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपाललाई एससीओमा सदस्यता दिलाउन चीनको समर्थनका लागि आग्रह गरे।

प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत अघि बढाइएका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तन अनुकूलन र जनता–जनता सम्बन्धमा सहयोगका लागि अनुरोध गरेका दूतावासले जनाएको छ।

साथै भारत र चीनबिच हालै भएको लिपुलेक हुँदै सीमा व्यापार गर्ने समझदारीप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओली सो क्षेत्र नेपालको अभिन्न भू-भाग भएको स्पष्ट पारे।

राष्ट्रपति सी ले नेपाललाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न सहयोग गर्न चीन तत्पर रहेको बताए । उनले संयुक्त राष्ट्रसंघ र एससीयो जस्ता बहुपक्षीय मञ्चमा समेत चीनले नेपालसँग सहकार्य गर्ने आश्वासन दिएको दूतावासले जनाएको छ।

चीनका राष्ट्रपतिले ‘एक चीन नीति’ को दृढ समर्थन गरेकोमा नेपाललाई धन्यवाद दिँदै, उच्च गुणस्तरका बीआरआई परियोजनाहरूको कार्यान्वयनमार्फत नेपालको विकासमा निरन्तर सहयोग गर्ने पुनः प्रतिबद्धता व्यक्त गरे।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख