बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाको पद धरापमा परेको छ।
लामालाई संसदीय दलको नेताबाट हटाउन कांग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएपछि उनको पद धरापमा परेको हो।
लामालाई हटाएर कांग्रेसका बहुमत सांसदले इन्द्र बानियाँलाई दलको नेताका रूपमा अघि सारेका छन्। बानियाँलाई मुख्यमन्त्री बनाउने उनीहरूको चाहना छ। बानियाँ बागमतीका सभापति हुन्।
२१ जना सांसदको हस्ताक्षर गरेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराइएको बानियाँको भनाइ छ। बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्।
लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमा इन्द्र बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन्। लामाविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरू शेरबहादुर देउवा, गगन थापा र प्रकाशमान सिंह पक्षधर सांसदहरू हुन्।
यसअघि कांग्रेसबाट मन्त्री बनेका ४ जनाले राजीनामा दिएका थिए। लामालाई हटाउन अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउनका लागि उनीहरूले राजीनामा दिएका थिए।
मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको आरोप कांग्रेसकै मन्त्रीहरूसम्मको छ। २०७९ पुस १३ गते भएको निर्वाचनमा बानियाँलाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए।
बागमतीमा कांग्रेस र एमालेका गठबन्धन सरकार छ।
प्रतिक्रिया