पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति हुँदा पनि एमालेको सदस्य नै रहेको संकेत गरेकी छन्।
भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नविकरण गरिसकेको भन्दै पार्टीमा फर्किन चाहेको उनले बताइन्। शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै भण्डारीले आफ्नो सदस्यता खारेज नहुने प्रष्ट पारिन्।
आफूले नवीकरण गरिसकेको सदस्यता कसैको उत्तेजनाको भरमा खारेज नहुने उनले बताइन्। उनले आफू एमाले सदस्य भएको ४५ वर्ष पुगेको जिकिर गर्दै राष्ट्रपति भएको समयलाई पनि एमालेकै सदस्यका रूपमा रहेको उल्लेख गरेकी हुन्।
राष्ट्रपति पदमा जानुअघि नै आफू एमालेको सदस्य भएको ३५ वर्ष भएको उनको भनाइ थियो। ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैंतिस वर्ष भइसकेको थियो। अहिले पार्टी सदस्य भएको पैंतालिस वर्ष बितिसकेका छन्,’ उनले भनिन्।
तर उनलाई सदस्यका रूपमा स्वीकार नगर्ने एमालेको निर्णय छ। ‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन,’ उनले भनिन्। विद्याले आफूलाई एमालेको पूर्वउपाध्यक्षका रूपमा चिनाउन चाहेकी छन्।
नेपालको संविधानअनुसार राष्ट्रपति हुन जाने व्यक्तिको दलको सदस्यता त्याग गर्नपर्ने उल्लेख छ। तर विद्याले आफू एमालेकै सदस्यका रूपमा रहेको जिकिर गर्नुले संविधानको मर्ममाथि प्रहार भएको छ।
यस्तै विद्या र एमालेले पार्टी सदस्यता नवीकरणको रटान लगाइरहेका छन्। सदस्यता त्याग गरिसकेको व्यक्तिले फेरि नवीकरण गर्दा मात्र हुने वा नयाँ सदस्यता लिनुपर्ने भन्ने विषयमा पनि बहस भएको छैन। किन राष्ट्रपति बन्न जाने व्यक्तिले पार्टीको सदस्यता त्याग गर्नुपर्ने कुरा संविधानमा नै उल्लेख छ।
यता एमाले केन्द्रीय कमिटीले आफ्नो पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयप्रति विद्याले गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन्। पार्टीको निर्णयलाई ‘अपरिपक्व’, ‘आवेगपूर्ण’ र ‘दुर्भाग्यपूर्ण’ भन्दै यसले आफ्नो संवैधानिक अधिकार हनन गरेको बताएकी छन्।
आफ्नो वक्तव्यमा भण्डारीले भनिन्, ‘नेपालको संविधानले प्रत्याभूति गरेको राजनीतिक दलमा आबद्ध हुने मौलिक हक र स्वतन्त्रतालाई पार्टीको निर्णयले संकुचन गरेको छ, जसले मलाई दुःखित तुल्याएको छ।’
राष्ट्रपति पदबाट सेवानिवृत्त भएपछि देश र जनताको सेवा गर्ने उद्देश्यले पुनः सक्रिय राजनीतिमा फर्कने संकल्प गरेको बताउँदै उनले आफूमा कुनै पदको लालसा नरहेको स्पष्ट पारिन्।
भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन आफ्नो सदस्यता र भूमिकाबारे सौहार्दपूर्ण छलफल भएको खुलासा गरिन्। तर, भोलिपल्ट विज्ञप्तिमार्फत सदस्यता नवीकरण नगरिएको थाहा पाउँदा आफू आश्चर्यचकित भएको उनको भनाइ थियो। ४५ वर्षदेखि पार्टीमा आबद्ध रही यसको निर्माणमा रगत–पसिना बगाएको स्मरण गराउँदै उनले आफूलाई सदस्य हुनबाट वञ्चित गर्न नमिल्ने तर्क गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको यो निर्णयले यसको साख र प्रतिष्ठामा आँच पुऱ्याउने चेतावनी दिँदै आफू आफ्नो निर्णयबाट विचलित नहुने दृढता व्यक्त गरिन्। उनले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्तको रक्षा गर्न देशभरका एमाले पङ्क्तिलाई आग्रह गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत आह्वान गरिन्।
यस्तो छ विद्याको अभिव्यक्ति
नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनीभूत ढंगले आमसञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ। मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु।
देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो। विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन-मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ। जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगें, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरें।
मैले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए। अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो। सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा (एमाले) मा आबद्ध भएर अगाडि बढ्नु नै थियो। यसै विषयलाई मध्यनजर गर्दै मैले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा (एमाले) को सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने सङ्कल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ।
हालैका दिनमा नेकपा (एमाले) को केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भाएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएँ। मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल समेत भएको थियो। त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदैआएको थियो।
मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ। यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तिबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।
म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन। यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ। कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति ममा छैन। किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु। मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढ़ाउने नै हो।
नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहिँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन। यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो।
जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन ।
यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ। यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ। आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैं छोप्न सकिँदैन।
विषद् छलफल गरिकन विवेकसम्मत ढङ्गले निर्णय लिनु पर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो। पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।
म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैंतिस वर्ष भइसकेको थियो। अहिले पार्टी सदस्य भएको पैंतालिस वर्ष बितिसकेका छन्। त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन। यो पार्टी बनाउन म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ। यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन। बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु। यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्क्तिमा आग्रह गर्दछु। मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन। त्यसैले, म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आव्हान गर्दछु।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) प्रतिको नेकपा (एमाले) का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण जनसंगठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज हाम्रो पार्टीले यो सफलता हासिल गरेको हो। नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ। हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो। यसका निम्ति हामी सबैको निष्ठायुक्त र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो। यसो हुन सक्दा नै जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ।
प्रतिक्रिया