गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने बताएका छन्।
बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटमा मन्त्री लेखकले छाउगोठमा बस्न बाध्य बनाउने मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य लेखकको भनाइ थियो।
“महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ।” मन्त्री लेखकले भने, “यसको निर्मलीकरणका लागि कसरी अगाडी बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ।”
महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाई छ। “ महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु।” लेखकले भने, “अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ।”
अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरी सहितको टोलीले महिला बालबालिकामाथि हुने विभेद र हिंसाका घटनाहरु भइरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापन पत्र समेत बुझाएका छन्।
प्रतिक्रिया