+
Search

ताजा अपडेट +

पपुलर +

भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त

अभिलेख
२०८२ असार ३१, मंगलवार १९:४७ बजे

राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरेका हुन्।

‘नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएसँगै न्यौपाने मन्त्रीमा नियुक्त भएकी हुन्।

त्यसअघि मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सोधपुछ गरेका थिए। तर सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गुप्ता सहभागी भएका थिए। उनले घुस डिल गरेको अडियो सार्वजनिक भएको विषयमा बैठकमा कुनै कुराकानी नै नभएको एक मन्त्रीले बताएका थिए।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो। गुप्ता एमालेका प्रतिनिधि सभा सांसद र केन्द्रीय सदस्य पनि हुन्।

यसैबीच, राजीनामापछि फेसबुकमा स्टाटस लेख्दै उनले आफू ‘प्रविधिको उच्चतम प्रयोग’ को सिकार भएको जिकिर गरेका थिए।

‘कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा गरेको छु,’उनले फेसबुकमा लेखेका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख