+
Search

ताजा अपडेट +

पपुलर +

१९ स्थानमा डाइभर्सन बनाएर बीपी राजमार्ग आजदेखि खुला

अभिलेख
२०८२ आश्विन २५, शनिबार ०८:४२ बजे

गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक निर्माण सम्पन्न गरी १९ स्थानमा डाइभर्सन बनाएर अवरुद्ध राजमार्ग आजदेखि पूर्ण रूपमा खुलाइएको छ।
शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ट्रयाक खुलाएर परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने उद्देश्यले रातको समयमा समेत कामलाई निरन्तरता दिइएको थियो। शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ट्रयाक खोली परीक्षण गरिएको थियो।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्लेको चार स्थान र माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको जानकारी दिए।
१९ स्थानमा डाइभर्सन निर्माण
कार्यालयले राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको थियो। राजमार्गको काभ्रेपलाञ्चोक सडकखण्डमा खोला फर्काएर डाइभर्सन निर्माण गरिएको हो।
“ट्रयाक खोलीसकेर खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्‍यौँ र थप सुधार गर्नुपर्ने तथा साँघुरो भएको स्थानमा राति काम गरेर आज बिहानदेखि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा ल्याएका हौँ”, इञ्जिनियर योगेशले भने।
रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो। बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको थियो। सोही क्षेत्रमा गतसालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो।
पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख