जेनजी पुस्ताले सोमबार भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन गर्दैछन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनीहरूले अनुमति पनि लिइसकेका छन्। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए।
जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचरविरूद्ध प्रदर्शन गर्न लागेका हुन्।
प्रदर्शनको व्यवस्थापन गर्न आइतबार केही युवाहरू माइतीघरमै बसेर छलफल गरेका थिए ।
‘हामीले शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने हो। बिहान ९ बजेतिर भेला भएर ११ बजेतिर बानेश्वरसम्म मार्च गर्ने तयारी छ,’ एक युवाले भने, ‘यसको आयोजक यही हो भनेर छैन। यसमा सानो सानो समूहसमूहमा साथीहरू भेला हुनुभएको छ।’
प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगान, लगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए। यसका लागि विभिन्न ठाउँमा र व्यक्तिहरूबाट ऐक्यबद्धता भइरहेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यस कार्यक्रममा आफ्नो समर्थन रहे पनि आफू उपस्थित नहुने बताएका छन्।
राजावादी आन्दोलनमा हूलदङ्गा मज्जाएको आरोपमा पक्राउ परेर भर्खर छुटेका दुर्गा प्रसाईँले पनि समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो समर्थन भएको र आन्दोलनमा आफू पनि उपस्थित हुने भन्दा आन्दोलनमा उपस्थित नभइदिन युवापुस्ताले भने उनलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया