आज जनै पूर्णिमा/रक्षाबन्धन नेपाली सनातानीय परम्परामा श्रावण शुक्ल पूर्णिमाको दिन दुई महत्वपूर्ण पर्वहरू एकै साथ मनाइन्छन्।
जुनसुकै नामले सम्बोधन गरे पनि त्यो दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूका लागि ठुलो धार्मिक र संस्कारयुक्त कर्म हो। यस दिन खासगरी मनुष्यले जन्मजात लिएर आएका ३ ऋण; देवऋण, पितृऋण र ऋषिऋण चुक्ता गर्न शास्त्रीय विधानअनुसारका कर्महरू गर्नुपर्ने हुन्छ, यसको सुरुवात यस दिनबाट सुरु हुन्छ।
विशेषगरी विप्रवर्ग (ब्राह्मण क्षेत्रीय तथा वैश्य) वर्गहरूले यस दिन बिहान सबेरै उठी नित्य नैमित्तिक कर्म पूरा गरी गुरु शिष्य, वा पुरोहित र यजमानसमेतका साथमा गङ्गादि पवित्र नदी वा तलाउमा गएर विशेष किसिमले स्नान, ध्यान तर्पण गर्नुपर्छ । साथै ब्राह्मणहरूद्वारा वैदिक मन्त्रका साथ अभिमन्त्रित यज्ञोपवीत तथा रक्षाबन्धन धारण गरी तन मनले शुद्ध हुने र मिश्रित गेडागुडीको टुसा पलाएको स्वस्थकर अमृतान्न भोजन गरेर शारीरिक र मानसिक रूपले पूर्ण स्वस्थ रहनका लागि शास्त्रहरूमा विधान गरिएको देखिन्छ ।
ऋषि तर्पणीका दिन ऋषि यज्ञवल्क्यले भगवान् सूर्यबाट वेदज्ञान प्राप्त गरेको हुनाले यस दिनलाई वेदजयन्ती पनि भनिन्छ । यसै दिनमा गौतमबुद्धले काम शक्तिमाथि विजय प्राप्त गरेको हुनाले बौद्ध धर्मावलम्बीहरूले यस दिनलाई पवित्र दिनका रूपमा बुद्धको स्मरण गर्ने गरेको पाइन्छ । खासगरी यो दिन तागाधारी वर्ग ब्राह्मण, क्षेत्रीय तथा वैश्यहरूका निमित्त महत्वपूर्ण रहेको हुन्छ । त्यसमा पनि विशेष गरि ब्राह्मण जाति जो स्वयम् ब्रह्म कर्म गर्ने र अन्यश्रुति स्मृतिमा उल्लेख भएका यज्ञ अनुष्ठान गर्न गराउनका निमित्त योग्य पुरोहित हुनका लागि पनि उहाँहरू मनसा, वचसा, कर्मणा शुद्ध हुनुपर्ने दिन पनि हो ।
यस दिनमा गरिने कर्महरू
सदा झैँ प्रातःकालमा उठेर आफ्ना घरमा गर्नुपर्ने नित्य कर्म आदिबाट निवृत्त भएपछि जौ, तिल, कुश, ताम्रपात्र, शुद्ध माटो (तुलसीको मठको माटो भए झन् राम्रो) गाईको गोबर (जर्सी गाईको बाहेक), भष्म (खरानी), दुबो, तथा फलफूल, अक्षता, चन्दन आदि पूजासामग्रीसहित आफ्ना पुरोहितका साथमा घरको पूर्व वा उत्तरतर्फको गङ्गा, नदी वा तलाउमा जाने र श्रावणी विशेष स्नाननिमित्त सङ्कल्प गरी वैदिमन्त्र वा पौराणिकमन्त्रद्वारा गङ्गाको प्रार्थना गरी शुद्ध माटोले शरीरको माथिल्लो भागमा दायाँ हातले र तल्लो भागमा बायाँ हातले लेपन गर्ने तद्पश्चात् जलस्नान गर्ने गर्नुपर्दछ ।
पुनः गाईको गोबरले शरीरका सबै बाहिरी भागमा गोबर लेपन गर्ने गर्नुपर्दछ । यसरी गोबर, माटो, जौ, तिल, कुश आदिले स्नान गरिसकेपछि पञ्चगव्यले स्नान गर्नुपर्छ । यसप्रकारले स्नान गरेपछि शरीरको बाहिरी भाग शुद्ध हुन्छ तर भित्री भागको शुद्धिको लागि फैरि पञ्चगव्य प्राशन गर्नुपर्छ । तद्पश्चात् दुबोले मार्जन गर्ने, यसरी स्नान कर्म सकेपछि गङ्गाजी तथा ब्रह्मादि देवता, ऋषिगण र पितृहरूलाई तर्पण दिने गरिन्छ । विभिन्न देवीदेवताहरूको उपासना तीनमा पनि विशेषगरी सूर्य भगवानको उपासना विशेष रूपले उल्लेख गरिएको छ । मनुष्यले आफ्नो ओज, तेज, बल, वीर्यवृद्धिका लागि नित्य यो मन्त्रद्वारा सूर्यलाई अर्ध दिनुपर्छ ।
ॐ एहि सूर्य सहस्रांशो तेजोराशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकरः ।
स्नान क्रियापछि हातमा ताम्रपात्रमा जल, चन्दन फूल राखी उक्त ताम्रपात्रको जल सूर्यलाई सम्मुख पारी जलपूर्ण ताम्रपात्र दुवै हातले उठाई ‘हे ! जगतका पति सूर्यदेव हजुर तेजको राशी, ऊर्जाको खानी हुनुहुन्छ त्यसैले ममाथि अनुकम्पा गरी मलाई सौर्य तेज, ओज, बल, वीर्य प्रदान गर्नुहोस्’ भनी अघ्र्य दिने र सूर्यमण्डलकै बिचमा भगवान् नाराययणको ध्यान गर्नुपर्छ ।
यसरी वैदिक मन्त्रद्वारा सूर्यलगायत सम्पूर्ण देवताहरूको उपाशना गरिसकेपश्चात् हामीलाई ज्ञान र सफल जीवन मार्गको शिक्षा दिने अरुन्धतीसहित सप्तऋषिहरू (कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वसिष्ठ तथा विश्वामित्र) ऋषिलाई आवाहान गरी षोडषोपचारले पूजन तथा तर्पण गरिन्छ । रुद्राष्टाध्यायी, विभिन्न ऋग्वेद, शुक्ल यजुर्वेदका मन्त्र तथा ब्रह्मगायत्रीद्वारा अभिमन्त्रित यज्ञोपवीत तथा रक्षाबन्धन बाँधेर आत्ममा प्रतिष्ठित रहने विश्वास गरिन्छ ।
यज्ञोपवीत धारण गर्ने मन्त्र–
ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।
ॐ यज्ञोपवीतमसि यज्ञस्यत्वा यज्ञोपविनोपनह्यामि ।
माथिको मन्त्र भनी नयाँ यज्ञोपवीत धारण गरेर जीर्ण यज्ञोपवीतलाई शुद्ध स्थानमा विसर्जन गर्नुपर्छ ।
रक्षाबन्धन
जनै पूर्णिमाका दिन क्वाँटी दान गरेर पुण्य सञ्चय गरी आफूले पनि पौष्टिक तत्व भएको क्वाँटी खाएर शरीरलाई स्वस्थ पारेर बलियो बनाउनुपर्छ भनी हाम्रा पुर्खाहरूले यो चलन चलाएका हुन् । यो समय भनेको असार साउन महिना, त्यसमा पनि दिनभर रोपाइँ गरेर शरीरमा लागेको सर्दी र कमजोरीलाई हटाउन हाम्रा पुर्खाहरूले यो क्वाँटी खाने चलन बनाइराखेका हुन् । तराईतिर भने यो दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई राखी बाँधिदिने चलन छ । यो चलनले दिदीबहिनी र दाजुभाइबिचको सम्बन्धलाई अझ प्रगाढ बनाइदिन्छ ।
रक्षाबन्धनको विषयमा सुनिएका किंवदन्तीअनुसार एकपटक देवता र दैत्यहरूका बिचमा १२ वर्षसम्म युद्ध भएछ । तर त्यस युद्धमा न दैत्यहरूले जित्न सके, न देवताहरूले नै जित्न सके । युद्ध गर्दागर्दा देवताका राजा इन्द्र पनि थाकेछन् । दैत्यहरूलाई किन हराउन सकिएन भनी इन्द्र आश्चर्यमा परेछन् । के गर्दा जित्न सकिन्छ भन्ने विचारले इन्द्र आफ्ना गुरु बृहस्पतिकहाँ उपायका लागि सल्लाह लिन पुग्छन्, “मैले के गरेमा युद्ध जित्न सफल हुनेछु ?” भनी इन्द्रले गुरु बृहस्पतिसँग अनुनय विनय गर्छन् । अनि गुरु बृहस्पतिले भन्नुहुन्छ, “हे इन्द्र, सबै देवताहरू साथमा लिई इन्द्रणीकहाँ गएर देवताहरू सबैलाई र आफूलाई पनि रक्षाका लागि ब्रत गर्नुप¥यो भनेर इन्द्राणीलाई ब्रत गराउनू । जब ब्रत समापन हुन्छ, त्यस समयमा जुन धागो प्राप्त हुन्छ त्यही धागोले इन्द्रको दाहिने हातमा बाँधी दिनाले तपाईंहरूको अवश्य नै युद्धमा विजय हुनेछ ।”
गुरु बृहस्पतिको यस्तो आज्ञा पाएपछि सम्पूर्ण देवतासहित इन्द्राणीकहाँ गएर इन्द्रले सबै कुरा बताउँछन् । इन्द्राणीले पनि सम्पूर्ण देवताका रक्षाका लागि विधिपूर्वक ब्रत बस्छिन् । ब्रत सकिनेबित्तिकै इन्द्रको दाहिने हातमा रक्षासूत्र धागो बाँधेर निधारमा टीका प्रसाद लगाइदिँदै भन्नुहुन्छ, “निर्धक्क भएर युद्धमा जानुहोस् । अवश्य पनि विजयी हुनुहुनेछ ।” फेरि देवता र दैत्यको बिचमा युद्ध हुन्छ । यसपटक इन्द्रले यति पराक्रम र साहसपूर्वक युद्ध लड्छन् कि दैत्यहरू नै चकित हुन्छन् । अन्ततः देवताहरूकै विजय हुन्छ । उही समयदेखि विजयको प्रतीकको यो पर्व मनाइँदै आइरहेको हो ।
रक्षा सूत्र बाँधिदिँदा यस्तो मन्त्र पढिन्छ ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबल:।
तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल ।।
आजसम्म पनि यो परम्परा चल्दै आइरहेको छ । यही परम्पराअनुसार ब्राह्मण वा पुरोहितले यजमानको हातमा रक्षा सूत्र बाँधिदिने र पुरानो जनै फेरेर नयाँ जनै लगाइदिन्छन् । यजमान सधैँ सत्यतामा बसोस् भनी गुरु पुरोहितहरूले आशीर्वाद दिइरहन्छन् ।
प्रतिक्रिया