सरकारले आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाएको छ।
कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले आजदेखि कोदो दिवस मनाउन लागेको हो।
कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो। कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो।
देशको कुल खाद्यान्न बालीको क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा ओगट्ने कोदोले ओगटेको कुल क्षेत्रफलमध्ये ९५ प्रतिशत पहाडी भेगमा मात्रै पर्छ। कृषि विभागको तथ्याँक अनुसार आर्थिक वर्ष २०८१ र ८२ मा रु ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको छ। पहिलेको तुलनामा कोदोबाली लगाइने क्षेत्रफल घट्दो क्रममा छ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार २०७१ सालमा २ लाख ६७ हजार हेक्टरमा कोदो खेती भएकोमा ३ लाख ८ हजार मेट्रिक टन उत्पादन भएको थियो भने आ.व. २०७४ / ०७५ मा देशभर २ लाख ६३ हजार ४९७ हेक्टरमा कोदो खेती गरिएकोमा ११९२ के.जी. प्रतिहेक्टरका दरले ३ लाख १३ हजार ९८७ मे.टन उत्पादन भएको थियो।
कोदो खेती घट्दै २०७९ मा २ लाख ६७ हजार हेक्टरमा मात्र कोदो रोपिएको थियो। ८ वर्षको अवधिमा कोदोको उत्पादकत्वमा पनि उल्लेख्य बढ्न सकेन। २०७१ सालमा १.१५ मेट्रिक टन प्रतिहेक्टर फलेको कोदोको उत्पादकत्व २०७९ मा १.२७ मेट्रिक टन पुगेको तथ्यांक छ। सडक सञ्जाल विस्तारसँगै सहर बजारबाट गाउँघरमा चामल, गहुँलगायत अन्नबाली भित्रिन थालेपछि पोषिलो कोदो, फापर, जौँजस्ता स्थानीय अन्नबाली किसानले लगाउन छाड्दै गएका हुन्। स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन्, भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रण बढ्न थालेको छ । धान, गहुँ र मकैजस्तै कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको हो।
गाउँघरमा परम्परागत रुपमा खेती गरिदै आएको कोदो लोप हुने अवस्थामा छ भने सहर बजारमा यसको माग धेरै छ। गाउँघरमा हेपिएको कोदो अहिले सहर बजारतिर खोजीखोजी खाना थालिएको छ।
तराईदेखि समुद्री सतहबाट ३‚१०० मिटरसम्मका उच्च पहाडी क्षेत्रसम्म कोदो खेती गरिन्छ। तर मागअनुसार आन्तरिक उत्पादन हुन सकेको छैन। गत आर्थिक वर्ष (२०८१/८२) मा विभिन्न मुलुकबाट ७६ करोड ५९ लाख रुपैयाँ बराबरको कोदो आयात गरिएको छ भने ४ लाख ८५ हजारको कोदोको बीउ भित्रिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड ४१ लाख ९५ हजारको कोदो र २ लाख २८ हजार रुपैयाँ बराबरको कोदोको बीउ आयात गरिएको थियो। यसैगरी आर्थिक वर्ष २०७९/८० मा ७१ करोड, ९४ लाख २३ हजारको कोदो र १ करोड २५ लाख ९० हजारको कोदोको बीउ आयात गरिएको थियो।
आर्थिक वर्ष २०७८/७९ मा ६६ करोड २२ लाख ५९ हजारको कोदो र ३ करोड ९९ लाख २३ हजारको कोदोको बीउ आयात गरिएको थियो। २०७७/७८ मा ७२ करोड ४ लाख १९ हजारको कोदो र ६ करोड ३३ लाख १९ हजारको कोदोको बीउ आयात भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा ४७ करोड ६३ लाख ८१ हजारको कोदो र ७ करोड १५ लाख १७ हजार कोदोको बीउ आयात गरिएको थियो।
प्रतिक्रिया