+
Search

ताजा अपडेट +

पपुलर +

फेरि पनि दलको नेता बन्न मुख्यमन्त्री लामाले दर्ता गराए उम्मेदवारी

अभिलेख
२०८२ श्रावण १४, बुधबार १२:२५ बजे

काठमाडौँ- नेपाली कांग्रेस बागमती संसदीय दलको नेता पदका लागि हाल मुख्यमन्त्री बहादुरसिंह लामाले पनि उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार मात्र कांग्रेस संसदीय दलको बहुमतले अविश्वास प्रस्ताव पारित गरेपछि फेरि उनले नेताका लागि उम्मेदवारी दिएका हुन्।

लामाको संसदीय दलका नेताको हैसियत गुमाएपछि नयाँ नेता छान्नका लागि बुधबार निर्वाचन प्रक्रिया सुरु भएको छ। यो प्रक्रियामा लामा पनि नेताको उम्मेवार बनेका हुन्।

प्रदेशसभा भवन परिसरमा जारी चुनावी प्रक्रियामा सामेल हुँदै मुख्यमन्त्री लामाले सांसद तीर्थ लामाको प्रस्ताव तथा अर्थमन्त्रीसमेत रहेका कुन्दनराज काफ्लेको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।

मंगलबार कांग्रेस संसदीय दलमा भएको मत विभाजनमा ३७ सांसदमध्ये २२ सांसद मुख्यमन्त्री लामाविरुद्ध मत दिएका थिए। जसका कारण दल नेता पद रिक्त भएपछि चुनाव गरेर पुनः चयन गर्न लागिएको हो।

यसअघि उनीविरुद्ध अविश्वास प्रस्तावको नेतृत्वकर्ता इन्द्रबहादुर बानियाँले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बन्न उम्मेदवारी दर्ता गराएका छन्।

बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुने यसका लागि गठित निर्वाचन समितिले जनाएको छ।

मंगलबार मात्र चारजना प्रदेश मन्त्रीसहित बहुमत सांसदको समर्थनमा अविश्वासको प्रस्ताव अघि बढाइएको थियो। तर दलको नेता पदबाट हटाइए पनि मुख्यमन्त्री लामाले आफू अझै दलको नेतृत्व गर्न योग्य रहेको दाबी गर्दै पुनः प्रतिस्पर्धामा उत्रिएका हुन्।

कांग्रेसबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा सांसद तानातान चलेको थियो। बानियाँले आफ्नो पक्षमा बहुमत सांसद जुटाएपछि लामालाई हटाउने प्रक्रिया अघि बढेको थियो।

गत शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये २ जना सांसद लामाको पक्षमा उभिए पनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नोतिर तान्दै २२ सांसद जुटाएका थिए।

यसबीच सांसदहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास चलेको थियो। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरू मीना पराजुली र माया श्रेष्ठले विज्ञप्ति जारी गरेरै प्रस्ताव फिर्ता लिएको र लामाकै पक्षमा रहेको बताएका थिए। तर, पराजुली फेरि बानियाँकै पक्षमा फर्किइन्।

बागमतीका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले मंगलबार मात्र राजीनामा दिएर बानियाँको पक्ष लिएका थिए।

यसअघि गत शुक्रबार कांग्रेसका चार मन्त्रीले राजीनामा दिएर इन्द्र बानियाँको पक्षमा खुलेका थिए।

मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेका र योजना बेचेको आरोप लगाउँदै कांग्रेसकै मन्त्रीहरू उनीसँग रुष्ट भएका थिए।

राजीनामा दिनेमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ रहेका छन्।

उनीहरुले प्रदेशमा संसदीय दलको नेता परिवर्तन गर्न आफूहरूले राजीनामा दिएको बताएका थिए।

यस घटनाले बागमती कांग्रेसभित्रको गहिरो विभाजन उजागर भएको छ। लामाका समर्थकहरूले उनलाई अन्यायपूर्वक हटाइएको भन्दै दलको एकताका लागि उनी नै उपयुक्त नेता रहेको दाबी गरेका छन्।

अर्कोतर्फ, बानियाँ समूहले लामाको नेतृत्वमा प्रदेश सरकार असफल भएको आरोप लगाउँदै नयाँ नेतृत्वको खाँचो औंल्याउँदै आएको छ।

अब संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुँदैछ। दलमा विभाजनकै बीच हुने यो प्रतिस्पर्धाले बागमतीको सत्ता समीकरणमा थप उतारचढाव ल्याउने निश्चित देखिन्छ। यसले कांग्रेसको संगठनात्मक स्थायित्वमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।

त्यसो त,नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको हैसियत गुमाइसकेका मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार मात्र तीन जना मन्त्री थप गरेका छन्। कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान गर्ने कार्यतालिका सार्वजनिक भइसकेपछि मुख्यमन्त्री लामाले मन्त्री थप गरेका हुन्।

मुख्यमन्त्री लामाले कांग्रेस सांसदहरू गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्। लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ।

यता मुख्यमन्त्री लामाद्वारा आज बिहान नियुक्त तीन मन्त्रीलाई अहिले शपथ नखुवाउन सत्ता साझेदार दल एमालेले आग्रह गरेको छ।

शपथ ग्रहणका लागि तयारी भइरहेका बेला एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरेर तत्काल शपथ नखुवाउन भनेका हुन्।

सत्ता साझेदार एमालेले भने नयाँ सिफारिस भएका मन्त्रीहरूलाई शपथ नगराउन भनेपछि मुख्यमन्त्री लामा अलमलिएका छन्।

प्रदेशको राजनीति अप्ठ्यारो मोडमा रहेका बेला मन्त्री नियुक्ति गरेर शपथ खुवाउँदा गलत सन्देश जाने भन्दै आफूले अहिले त्यसो नगर्न भनेको नेता थपलियाले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख