देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिनाजस्तो भए पनि मधेश प्रदेशका आठ जिल्लामा वर्षा हुन सकेको छैन।
समयमा वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुक्खा झेल्नुपरेको छ। धान रोप्नका लागि वर्षाको पानीको भर पर्नुपर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावणको पहिलो हप्तासम्म पनि रोपाइँ गर्न पाएका छैनन्।
सुक्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
मधेश प्रदेशका विभिन्न जिल्लामा पानीको अभावका कारण समयमा रोपाइँ हुन सकेको छैन भने रोपाइँ गरिसकेका खेतमा पनि धाँजा फाट्ने, धानका बीउ सुक्नेजस्ता समस्या किसानहरूले झेलिरहनु परेको छ। त्यसो त हरेक वर्ष मलखादको अभाव झेल्नुपरेका मधेशका किसानहरूले यो वर्ष भने सुक्खा र खडेरीको सामना गर्नु परेको छ।
पहिलेका वर्षहरूमा यो समयसम्म धान रोपाइँ सकिने भएपनि यसपालि वर्षा नभएपछि धानको बीउ पनि सुकेका छन्। स्थानीय सरकार र प्रदेश सरकारले किसान र कृषिका लागि खासै ध्यान नदिएको किसानहरुको गुनासो छ।
प्रतिक्रिया