+
Search

ताजा अपडेट +

पपुलर +

साउन २१ सम्म शिक्षा विधेयक पारित गर्न शिक्षक महासंघको अल्टिमेटम

अभिलेख
२०८२ श्रावण २, शुक्रबार १५:४५ बजे

काठमाडौँ- नेपाल शिक्षक महासंघले साउन २१ गतेसम्म शिक्षा विधेयक पारित गर्न अल्टिमेटम दिएको छ। साउन २१ सम्म विधेयक पारित नभए कडा आन्दाेलन थाल्ने चेतावनी पनि महासंघले दिएकाे छ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै महासंघले आफूहरूका माग सम्बोधन गरी शिक्षा विधेयक पारित नभए कडा आन्दोलन थालिने चेतावनी दिएको हो।

पत्रकार सम्मेलनपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा राज्यले फेरि शिक्षक/कर्मचारीलाई धोका दिन र आन्दोलनतर्फ धकेल्न उद्यत रहेको समेत आरोप लगाएको छ।

महासंघले देशमा ८९ दिन र राजधानीकेन्द्रित २९ दिन आन्दोलन गरेपछि सरकारले वैशाख १७ गते महास‌ंघसँग सहमति गरेको थियो। गत चैत १५ गतेबाट आन्दोलन सुरु गरेर वैशाख १७ गते सरकारसँग सहमति गरी आन्दोलन समापन भएको थियो।

विधेयकमा ६० प्रतिशत आन्तरिक प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। तर शिक्षकहरुले भने ७५ प्रतिशत बनाउनुपर्ने भन्दै विधेयकमा आफूहरूको माग सम्बोधन नगरे आन्दोलनको चेतावनी दिएपछि शिक्षा समितिमा नै विधेयक अड्किएको छ।

महासंघले अस्थायी, राहत, स्थायी शिक्षकदेखि विद्यालय कर्मचारीसम्म सबैका समस्याप्रति समान चासो राखेको तर  कुनै पक्षलाई बेवास्ता नगरेको अध्यक्ष सुवेदीको दावी छ।

‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमती समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी कम्तीमा २०८२ साउन २१ गते अघि पारित गराउन हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘यो अवधिमा विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित भई अघि नबढेमा वा नेपाल शिक्षक महासङ्घसँग भएका सहमती विपरित प्रबन्ध गरी अघि बढेमा ने.शि. महासङ्घ विगतमा भन्दा कडा र सशक्त आन्दोलन गर्ने कुरा उद्घोष गर्दछ। आन्दोलनका कार्यक्रम यथासमयमा सार्वजनिक गरिनेछ’, विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख