+
Search

ताजा अपडेट +

पपुलर +

अब एटिएमबाट एकपटकमा २० हजार मात्र झिक्न पाइने, किन घटाइयो सीमा?

अभिलेख
२०८२ आश्विन २५, शनिबार ०८:५४ बजे

नेपाल राष्ट्र बैंकले डेबिट कार्डमार्फत नगद निकाल्ने सीमामा  कटौती गरेको छ। डिजिटल भुक्तानीलाई बढावा दिने उद्देश्यले गरिएको यो निर्णयसँगै अब एटिएमबाट एकपटकमा २० हजार रुपैयाँ मात्र निकाल्न सकिने भएको छ।

शुक्रबार प्रकाशित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को संशोधनमार्फत नयाँ व्यवस्था लागू गरिएको हो।

के–के परिवर्तन भयो?

एकपटकको निकासी सीमा: पहिलेको २५ हजार रुपैयाँबाट घटाएर अब २० हजार रुपैयाँ मात्र निकाल्न पाइने व्यवस्था गरिएको छ।

दैनिक निकासी सीमा: यसअघि एक लाख रुपैयाँसम्म निकाल्न सकिने गरेकोमा अब आधा कटौती गरी ५० हजार रुपैयाँ मात्र तोकिएको छ।

मासिक कारोबार सीमा: डेबिट कार्डबाट मासिक कारोबार सीमा चार लाख रुपैयाँबाट घटाएर तीन लाख रुपैयाँ कायम गरिएको छ।

किन घटाइयो सीमा?

केन्द्रीय बैंकले यो निर्णय डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहित गर्ने उद्देश्यले लिइएको स्पष्ट पारेको छ। एटिएममार्फत हुने नगद निकासी अझै पनि परम्परागत नगदमुखी कारोबारको रूपमा रहेकाले अनलाइन तथा इलेक्ट्रोनिक माध्यमबाट हुने भुक्तानीलाई प्राथमिकता दिन यस्तो कदम चालिएको बैंकले जनाएको छ।

यो नयाँ व्यवस्था तत्काल लागू भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख