+
Search

ताजा अपडेट +

पपुलर +

लोडसेडिङ सुरु भएपछि प्राधिकरणका कार्यकारी निर्देशक पुगे चितवन

अभिलेख
२०८२ श्रावण १२, सोमबार १०:४३ बजे

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणको चितवन शाखाले लोडसेडिङको तालिका सार्वजनिक गरेपछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगेका छन्। सोमवार बिहानै शाक्य भरतपुर पुगेका हुन्।

विद्युत प्राधिकरणको चनौली सबस्टेशनले तीन फिडरमा लोडसेडिङको सूचना निकालेको छ। सबस्टेसनले दिनमा ६ घण्टा लोडसेडिङ गर्ने जानकारी गराएको छ। चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना सुरु भएको छ।

शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार शाक्य भरतपुरको अवस्थाका बारेमा जानकारी लिएपछि पूर्वी चितवनको राप्तीमा रहेको हर्दी सबस्टेशनमा पुग्नेछन्।

हर्दीमा आइतबार राति २४ एमभीएको ट्रान्सफर्मर जडान गरी सफलतापूर्वक परीक्षणको काम भइसकेको छ। हर्दी स्टेशनका इन्चार्ज रोशन खनियाँले ट्रान्सफर्मरको काम सकेर चार्ज गर्ने काम सुरु गरिएको बताए।

चितवनमा पछिल्लो समयमा गर्मी बढेसँगै पूर्वी चितवनको टाँडी, खैरहनी, राप्ती तथा माडी र पश्चिम चितवनमा विद्युत आपूर्तिमा समस्या पनि समस्या छ।

टाँडी तथा माडीका विद्युत स्टेशनमा त्यहाँका स्थानीयहरुले विरोध गर्दै आएका थिए। चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। बढी मात्रामा बिजुली खपत हुन थालेको भन्दै प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो।

अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको प्राधिकरणको भनाइ छ। चितवनमा साउन ११ देखि लागु हुने गरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो।

वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूमा लोडसेडिङ हुने भएको हो।

कहाँ कतिबेला लोडसेडिङ?
१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।

२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।

३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख