काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज (असार २९ गते) देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको महाकाव्य ‘रामायण’लाई नेपालीमा भावानुवाद गरी भानुभक्तले नेपाली रामायण लेखेर नेपाली भाषाको समृद्धिमा लगाएको गुनको स्मरण गर्दै उनको जन्मजयन्ती मनाउने गरिएको हो।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।
‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’।
नेपाली राष्ट्रिय एकता, भाषिक एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन्। यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ। घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन्। यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन्।
आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ।
यसैबीच आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ। भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको हो।
‘भानु जन्मस्थल जाऊँ : भानुलाई चिनाऔं’ भन्ने नाराका साथ नेपाल, नेपाली र भानुवासीको पहिचान हेतु भानु जन्मस्थलको विकासका लागि सुरुआत गरिएको हो। भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले प्रारम्भिक गुरुयोजनाअन्तर्गत आदिकवि भानुभक्तको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक उद्यान, पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेटका साथै दातृ निकाय एवं देशविदेशमा आवश्यक समन्वय गरिने बताए।
चुँदी रम्घालाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ। उनले भने, ‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा भानुभक्त आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ।’
साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिने छ। उनका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ।
नगर प्रमुख त्रिपाठीले भने, ‘भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रूपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु हो। नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरूको संरक्षण संवद्र्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गरिनेछ।’ नगरपालिकाले पर्यटन क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ। नगरपालिकाभित्रका पर्यटनसँग आबद्ध संस्थालाई सक्रिय र सङ्गठित बनाउँदै पर्यटन प्रवद्र्धनलाई थप प्रभावकारी बनाउइने छ।
त्यस्तै घरबास (होमस्टे) हरूको संरक्षण, संवद्र्धन, प्रवद्र्धन एवं दर्ता र नवीकरण गरी ‘होमस्टे सर्किट’ को विकासका साथ नेपालको मौलिक कला र संस्कृति झल्किने खाना, पहिरन तथा रोधी, घाँटु, लाखेनाच, चुट्का, झाम्रेलगायतका पहिचान संरक्षण तथा प्रवर्द्धन हेतुले भानु नगरको होमस्टे जाऊँ भन्ने नारालाई सार्थक तुल्याउन समुदायले सञ्चालन गरेका होमस्टे प्रवद्र्धनका लागि पूर्वाधार निर्माण र व्यवस्थित रूपमा होमस्टे सञ्चालनमा सहयोग गरिने त्रिपाठीले उल्लेख गरे।
प्रतिक्रिया