+
Search

ताजा अपडेट +

पपुलर +

अन्तरिम सरकारकाे प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की नियुक्त, आजै संसद् विघटन हुने

अभिलेख
२०८२ भाद्र २७, शुक्रबार २०:४३ बजे

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री (सरकार प्रमुख) मा नियुक्ति भएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भर्खरै भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश कार्कीलाई आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइने भएको छ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ।

त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ।

‘मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ,’ पोखरेलले भने।

आन्दोलनरत जेनजी युवाहरूको मागअनुरूप संसद् विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।

राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद् भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।

राष्ट्रपति पौडेलले कार्कीलाई म तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छु र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेका थिए।

तर आन्दोलनरत जेनजीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख