+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीको विकासमा शिक्षक, विद्यालय र अभिभावकको भूमिका

राजेश घिमिरे
२०८२ भाद्र ३, मंगलवार ११:१० बजे

शिक्षा केवल पाठ्यपुस्तकको ज्ञान वा लिखित ज्ञान दिने प्रक्रिया मात्र होइन, व्यक्तित्व र चरित्र निर्माण गर्ने आधार हो । विद्यार्थीहरू राष्ट्रका भविष्य हुन् र उनीहरूमा अनुशासन, सिर्जनशीलता, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, सकारात्मक जीवनशैली, समीक्षात्मक तथा विश्लेषणात्मक सोच र आजीवन सिकाइको मानसिकता जस्ता गुणहरूको विकास हुन अत्यावश्यक छ । यी गुणहरूले विद्यार्थीलाई केवल शैक्षिक रूपमा सक्षम बनाउँछ नै समाजमा जिम्मेवार र नैतिक नागरिकका रूपमा स्थापित गर्न पनि मदत गर्छ । तथापि यी गुणहरू विकास केवल विद्यार्थीको व्यक्तिगत प्रयास वा कक्षाको पढाइबाट मात्रै सम्भव हुँदैन । शिक्षक, विद्यालय व्यवस्थापन र अभिभावकबिचको साझा सहकार्य र समन्वय बिना यी गुणहरूको पूर्ण विकास कठिन हुन्छ ।
शिक्षक विद्यार्थीको प्रत्यक्ष मार्गदर्शक र प्रेरणादायक हुन्छन् । शिक्षकको आचरण, व्यवहार र दृष्टिकोणले नै विद्यार्थीको प्रारम्भिक आदर्शका रूपमा काम गर्छ । विद्यार्थीमा अनुशासनको बोध गराउन शिक्षकले आफै समयपालन, नियमको पालना र शिष्टाचार देखाउनुपर्छ । कक्षामा विद्यार्थीलाई खुला प्रश्न सोध्न, बहसमा सहभागी हुन र प्रस्तुति दिन प्रोत्साहित गरेर उनीहरूमा आत्मविश्वास र नेतृत्व क्षमता विकास गरिन्छ । परियोजना–आधारित सिकाइ, समूहगत गतिविधि र अनुसन्धानात्मक अभ्यासले विद्यार्थीलाई सिर्जनशील र समस्या समाधान गर्न सक्षम बनाउँछ ।
सिर्जनशीलता र विश्लेषणात्मक सोचको विकासका लागि शिक्षकले विद्यार्थीलाई विभिन्न दृष्टिकोणबाट समस्या हेर्न, सूचना परीक्षण गर्न र तथ्याङ्कको आधारमा निर्णय लिन सिकाउनुपर्छ । यसरी विद्यार्थी केवल ज्ञानको भण्डार होइन, तर्कशील र विश्लेषक व्यक्तित्व विकास गर्ने अवसर पाउँछन् । शिक्षकले कला, खेलकुद र सह–पाठ्यक्रम गतिविधिमार्फत सामाजिक चेतना, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्वबारे सचेत बनाउँछन् । निरन्तर नयाँ कुरा सिक्ने बानी देखाएर शिक्षकले विद्यार्थीमा आजीवन सिकाइको मानसिकता जगाउँछन् । यसरी शिक्षकले प्रत्यक्ष रूपमा विद्यार्थीको बौद्धिक, सामाजिक र भावनात्मक विकासमा योगदान पु¥याउँछन् ।
शिक्षकको प्रयासलाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापनको भूमिका आधारस्तम्भ हो । विद्यालयले सुरक्षित, समावेशी र प्रेरणादायी सिकाइ वातावरण तयार पार्न आवश्यक हुन्छ । पुस्तकालय, प्रयोगशाला, स्मार्ट कक्षा, कम्प्युटर, इन्टरनेट, खेलमैदान र कला–सङ्गीतका सामग्री उपलब्ध गराएर विद्यालयले विद्यार्थीलाई व्यावहारिक, सिर्जनात्मक र सन्तुलित सिकाइमा सहभागी गराउँछ । व्यवस्थापनले शिक्षकलाई निरन्तर तालिम र कार्यशालामार्फत् अद्यावधिक बनाउने, अन्तर्राष्ट्रिय शिक्षण अभ्याससँग परिचित गराउने र दक्षता बढाउने अवसर प्रदान गर्नुपर्छ ।
विद्यार्थीको गुणात्मक विकास सुनिश्चित गर्न मूल्याङ्कन प्रणाली पनि महत्वपूर्ण हुन्छ । विद्यालयले केवल शैक्षिक प्रगति मात्र नभई विद्यार्थीको आचरण, सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र सहकार्य जस्ता पक्षहरूको समेत मूल्याङ्कन गर्ने प्रणाली लागू गर्नुपर्छ । उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, सम्मान र अवसर प्रदान गर्ने व्यवस्थाले विद्यार्थीको उत्साह र सिर्जनशीलतालाई अझ बढाउँछ । त्यस्तै, व्यवस्थापनले अभिभावकसँग निरन्तर संवाद राखेर विद्यार्थीको क्षमतता विकासमा सहकार्य सुनिश्चित गर्नुपर्छ । दीर्घकालीन दृष्टि र स्पष्ट नीति बनाएर विद्यालयले विद्यार्थीलाई व्यवस्थित र समग्र विकासका लागि मार्गदर्शन गर्न सक्छ ।
विद्यालयमा सिकाइ भएको ज्ञान र मूल्यहरूको वास्तविक प्रभाव घरमा प्रतिबिम्बित हुनु आवश्यक छ । यसमा अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । अभिभावकले घरमा प्रेम, आदर र विश्वासमा आधारित सकारात्मक वातावरण सिर्जना गर्नुपर्छ । यसले बच्चालाई खुला रूपमा सोच्न, सिक्न र आफ्ना विचार व्यक्त गर्न उत्साहित बनाउँछ । अभिभावकले गृहकार्यमा सहयोग गर्ने, शिक्षकसँग नियमित सम्पर्कमा रहने र प्रविधि प्रयोगमा सन्तुलन कायम गर्ने जिम्मेवारी लिन्छन् साथै अभिभावकले बच्चाको कला, सङ्गीत, खेलकुद र अन्य रुचिलाई प्रोत्साहन गर्ने, असफलतामा उत्साह जगाउने र सफलतामा सही दिशानिर्देश दिने भूमिका निर्वाह गर्नुपर्छ । सामाजिक उत्तरदायित्व र सांस्कृतिक मूल्यहरूको अनुभव गराउने, प्रकृति र वातावरणको संरक्षणमा संलग्न गराउने कार्य पनि अभिभावकको कर्तव्य हो । अभिभावकले आफू पनि निरन्तर सिकेर जिज्ञासु भई व्यवहार गर्दा बच्चामा आजीवन सिकाइको संस्कार विकास हुन्छ ।
विद्यार्थीमा अपेक्षित गुण र विशेषता विकास केवल एक पक्षको प्रयासमा सम्भव हुँदैन । शिक्षक, विद्यालय व्यवस्थापन र अभिभावकबिचको त्रिपक्षीय सहकार्यले मात्र विद्यार्थीलाई सम्पूर्ण रूपमा सक्षम बनाउँछ । शिक्षकले प्रत्यक्ष मार्गदर्शन, प्रेरणा र मूल्य शिक्षा दिन्छन् । विद्यालय व्यवस्थापनले स्रोत, पूर्वाधार र नीति–नीतिगत स्पष्टता प्रदान गर्छ । अभिभावकले घरमा सकारात्मक वातावरण र निरन्तर समर्थन सुनिश्चित गर्छन् । जब यी तीन पक्षको साझा प्रयास र समन्वय हुन्छ तब विद्यार्थी अनुशासित, सिर्जनशील, जिम्मेवार र विश्वस्तरीय नागरिकका रूपमा विकसित हुन्छ । यसरी त्रिपक्षीय सहभागिताले मात्र हाम्रो युवा पुस्तालाई उज्ज्वल भविष्य निर्माण गर्न सक्षम बनाउँछ ।

प्रतिक्रिया

लेखकको बारेमा

राजेश घिमिरे