शुक्रबार साँझदेखि कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागार अझसम्म पनि प्रशासनको नियन्त्रणमा आउन सकेको छैन।
शुक्रबार रातिको झडपमा एक जनाको मृत्यु र ४९ जना घाइते भएपछि प्रशासनले नियन्त्रण गुमाएको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अझै कारागार प्रशासन झडप भएपछि कारागारभित्र नगएको जानकारी दिए।
शुक्रवार कैदीबन्दीहरूले थुनुवा कक्षमा भित्रबाट ताला लगाएका थिए। त्यो ताला अझसम्म खोलिएको छैन। घटनापछि सुरक्षाकर्मी र कारागार प्रशासनका कोही पनि त्यहाँ छिरेका छैनन्।
कैदीबन्दीका आफन्तहरू कारागार परिसरमा पुगेर सोधखोज गरिरहेका छन्। कारागार प्रशासनले उनीहरूलाई गेटबाहिरै रोकेको छ। कारागारभित्रको अवस्था सार्वजनिक भएको छैन।
मानव अधिकार आयोगलाई गत साउन १४ गते ५९० जना कैदी बन्दीले ध्यानाकर्षणपत्र पठाएर आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेपछि आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो। तर लगत्तै कारागारमा नै झडप हुन पुग्यो।
शुक्रबार ब्लक ए मा रहेका कैदी बन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदी बन्दीमाथि आक्रमण गरेका थिए। यसपछि धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो।
कारागारका जेलर शाखा अधिकृत वसन्त खत्री एक महिनादेखि बिदामा थिए। कामु जेलर नायब सुब्बा ज्ञानेन्द्र ओझा पनि बिदामा बसेको बेलामा कारागारमा घटना भएको हो। अहिले बाँकेका जेलर जालान्दर भुसाललाई त्यहाँ पठाइएको छ।
अहिले त्यहाँका कैदीबन्दीको संख्या गणना थालिएको छ। जेलर भुसालले प्रत्येक कैदीलाई बोलाएर संख्या गणना गर्न थालेका हुन्। कारागार स्रोतका अनुसार, अहिले धमाधम कैदीबन्दीको संख्या यकिन गर्ने काम भइरहेको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले कारागारभित्रका कैदीबन्दीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको बताएका छन्।
घटनाबारे छानबिन गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको समिति बनेको छ।
प्रतिक्रिया