काठमाडौँ- भारत उत्तराखण्डको उत्तरकाशीस्थित खिर नदीमा अचानक आएको बाढीमा परी २९ जना नेपाली सम्पर्कविहीन भएका छन्। साउन २० गते भएको उक्त घटनामा परी २९ जना सम्पर्कविहीन बनेका हुन्।
विभिन्न जिल्लाबाट २९ जना सम्पर्कविहीन भएको विवरण मन्त्रालयमा प्राप्त भएको गृह मन्त्रालयले जानकारी दिएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्रालयले सम्पर्कविहीन भनेर मन्त्रालयमा आएको जानकारी भेरिफाइ हुने प्रक्रियामा रहेको जानकारी दिए।
‘हालसम्म २९ जना सम्पर्कविहीन भन्ने विवरण आएको छ। यो संख्या घटबढ हुन सक्छ,’ प्रवक्ता काफ्लेले भने, ‘हामी भेरिफाइ गर्दैछौँ।’
मन्त्रालयका अनुसार जाजरकोटका २१ जना नेपाली सम्पर्कविहीन छन्। यस्तै बर्दिया र धादिङका पनि ४-४ जना सम्पर्कविहीन भएको भनेर जिल्ला प्रशासन कार्यालयहरूले जानकारी गराएको उनले बताए।
उनीहरुको विवरण संकलनको कार्य भइरहेको काफ्लेले जानकारी दिए। मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आफूहरूले संकलन गरेको विवरण पठाउने तयारी गरेको उनले बताए।
साउन २० गते उत्तरकाशीको खिर नदीमा लेदोसहित आएको बाढीले धराली गाउँ र पौडीगढीमा ठूलो विनाश निम्त्याएको थियो।
नयाँदिल्लीस्थित नेपाली दूतावासले स्थानीय प्रहरीबाट नेपालीहरूको जानकारी लिने प्रयास भइरहेको बताए।
पहिरोमा परी हालसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। कति जना सम्पर्कविहीन भए भन्ने यकिन विवरण संकलनको प्रयास भइरहेको भारतीय प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया